कर्णालीका पाँच जिल्लामा फैलियो कोरोना, देशभर आठको मृत्यु

सुर्खेत, १८ जेठ (जागरण) । कोरोना भाइरसको संक्रमण कर्णाली प्रदेशका पाँच जिल्लामा फैलिएको छ ।

कर्णाली प्रदेशमा हाल सम्म ६ हजार ९ सय ९१ जानको पिसिआर परिक्षण भएकोमा १ सय २३ जना कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।

दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ । बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत रहेका छन् । संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको संख्या आठः

नेपालमा आज सम्म कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मृत्यु भइसकेका दुई जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो ।

प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो ।

दैलेखका पुरुषको मृत्यु भएको भोलीपल्टै बाजुराकी बालिकाको आज बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । नेपालमा कोरोना जित्नेको संख्या भने २ सय २० पुगेको छ ।

आज एकै दिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो ।

अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९ जना रहेका छन् । आज एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २ सय २० पुगेको छ ।