फौजी र फेदकटुवा किराले हैरान कृषक, समिति क्रियाशिल बनाउँदै सरकार

पंखबहादुर शाही ।
सुर्खेत, २१ जेठ (जागरण) । कर्णाली प्रदेशका विभिन्न जिल्लाका कृषकले लगाएको मकै बालीमा फौजी किरा र फेदकटुवा किरा लागेपछि समस्या भएको छ । धेरै ठाउँमा फौजी किरा लागेको र कतै–कतै फेदकटुवा नामको किराले पनि बालीमा समस्या निम्त्याएको हो ।

गत बर्ष नेपालका पुर्वी क्षेत्रमा फैलिएको फौजी किराले यो बर्ष कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा मकैखेती नष्ट गरिरहेको छ ।

फौजी किरा जस्तै फेदकटुवा नाम गरेको किरा पनि मकै खेतीमा लाग्ने गरेकोले थप समस्या भएको कर्णाली प्रदेशको एकिकृत कृषि प्रयोगशालाले निष्कर्ष निकालेको छ ।

यसैबीच, फौजी किरा नियन्त्रण गर्न कर्णाली प्रदेशमा समिति गठन गरिएका छन् । प्रदेशस्तरमा कृषि विकास निर्देशनालयका निर्देशकको नेतृत्वमा र जिल्लाहरुमा कृषि विकास कार्यालयका प्रमुखको नेतृत्वमा इकाई समिति बनाइएको प्रयोगशालाले जानकारी दिएको छ ।

ठाउँ हेरेर ७ देखि ९ जना सम्मको समिति गठन गरिएको प्रयोगशालाका सुचना अधिकारी एवम् बाली संरक्षण अधिकृत घनश्याम कार्कीले जागरणलाई जानकारी दिनुभयो ।

गठित समितिले प्रचार–प्रसार, प्राविधिक सल्लाह, कृषि विकास कार्यालय देखि स्थानीयतहका वडातहमा रहेका कृषि प्राविधिकहरुलाई जागरुक बनाउनुका साथै विषादी र अन्य सामग्रीहरुको व्यवस्थापन गरिएको छ ।

कार्कीले यो किरा आहाराको खोजी गर्न एकै रातमा ५ सय किलोमिटर भन्दा टाढा जान सक्ने भएकाले फौजी किराले प्रदेशका पाँच जिल्लामा निकै आक्रमण गरिरहेको बताउनुभयो ।

फौजी किराका चारओटा अबस्थामध्ये लार्भा अबस्थामा मकैलाई नोक्सानी गर्ने र दिउँसो भन्दा रातिमा धेरै नोक्सानी गर्न सक्छ । हालसम्म फौजी किरा नियन्त्रणका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा करिब ५ लाख रुपैयाँ बराबरको विषादी पाँच जिल्लामा पठाइएको कार्कीको भनाई छ ।

कर्णालीको मुख्य खाद्यान्न बाली मकै भएकाले मकैलाई नै बचाउन नसके आउँदो बर्ष ठुलो भोकमरी निम्तिने कृषिविज्ञहरुको अनुमान छ । त्यसका लागि सबै स्थानीय तह, कृषि शाखा, कृषि कार्यालयलाई फौजीकिरा नियन्त्रण गर्नका समन्वयन गर्न आग्रह गरिएको छ ।

यस्तै दैलेखको दुल्लू नगरपालिकाले भने फौजीकिराले आतंक मचाएपछि नगरपालिकाको कृषि शाखा मार्फत कृषि पढेका ६५ जना स्वंयम सेवक परिचालन गरेको छ ।

१३ ओटै वडाका पाँच पाँच जना युवाहरुलाई विषादी र सामग्री उपलब्ध गराई फौजी किरा नियन्त्रणमा जुटेको नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जागरणलाई जानकारी दिनुभयो । परिचालन गरिएका स्वयंमसेवकलाई दैनिक ६ सय रुपैयाँका दरमा ज्याला उपलब्ध गराइने छ ।