कर्णालीमा थप १६ मा कोरोना पुष्टी, दुई सय ७८ पुग्यो संक्रमितको संख्या

सुर्खेत, २१ जेठ (जागरण) । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरसका संक्रमित भई पुष्टी भएकाको संख्या दुई सय ७८ पुगेको छ ।

यसअघि दुई सय ६२ जनामा कोरोनाको संक्रमण पुष्टी भएकोमा आज नयाँ १६ जना कोरोना संक्रमित भएका पुष्टी भएसँगै यो संख्या दुई सय ७८ पुगेको हो ।

संक्रमितहरुमध्ये दैलेखमा १ सय ५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५ र मुगुमा एक तथा कर्णालीमै पुष्टी भएका बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भइसकेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको छ ।