तीन दिनसम्म निषेधाज्ञा

मानबहादुर कुँवर ।
जुम्ला, २१ जेठ (रेडियो खुला आकाश) । जुम्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले आज बिहान ९ बजेदेखि पर्सी शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उहाँले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने उल्लेख गरिएको छ ।

यसैबीच, जुम्लाको हिमा गाउँपालिका–३ का स्थानीय युवाहरुले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन् । गत आइतबार जुम्लाका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै आफूहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएको स्थानीय युवा सत्यानारायण योगीले बताउनुभयो ।