सहयोग गर्न विकास साझेदारहरुलाई कर्णाली सरकारको आग्रह

सुर्खेत, २१ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेको छ ।

रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण बढेको र त्यसको व्यवस्थापनमा सरकारलाई अप्ठ्यारो परेको भन्दै यस्तो आग्रह गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिबीचको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको बताउदै क्वारेन्टाइन व्यवस्थापन, आइशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको बताउनुभयो ।

कर्णाली प्रदेशबाट करिव साढे एक लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको बताउदै मुख्यमन्त्री शाहीले अझै पनि १ लाख भन्दा बढी नागरिक कर्णाली फर्कने अनुमान रहेको बताउनुभयो ।

ठुलो संख्यामा विदेशबाट फर्किएका नागरिकहरुबाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको बताउदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन र आइशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेको मुख्यमन्त्री शाहीको भनाई छ ।