दुई वितरण केन्द्रमा खाद्यान्न आपूर्तिको बैकल्पिक व्यवस्था गर्न केन्द्रसँग माग

सुर्खेत, २१ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले हुम्लाको याल्वांग वितरण केन्द्र र डोल्पाको तिन्जे वितरण केन्द्रमा खाद्यान्न आपूर्तिको लागि बैकल्पिक व्यवस्था गर्न केन्द्र सरकारसँग माग गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको मार्ग हुँदै खाद्यान्न आपूर्ति गर्दै आएकोमा हाल कोभिड–१९ का कारण त्यो मार्गबाट खाद्यान्न आपूर्ति गर्न नसकिने अवस्था भएको हुँदा बैकल्पिक व्यवस्था गरी ती आपूर्ति केन्द्रहरुमा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन केन्द्र सरकार समक्ष माग गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले तत्काल २५ हजार क्विवन्टल चामल, १२ हजार क्विन्टल गहुँ र तीन हजार क्विन्टल दाल सहित ४० हजार क्विन्टल खाद्यान्न खरिद गरेर भण्डारण तथा आपूर्तिको व्यवस्था गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मा दिइएको सरकारका प्रवक्ता एवम् भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

केसीकाअनुसार खाद्य सुरक्षाका लागि उत्पादन बिशेष कार्यक्रम तथा कार्यक्रम संचालन कार्यविधि २०७७ स्वीकृत भएको छ । प्रदेशमा खाद्यान्न भण्डारण तथा आपूर्तिको व्यवस्थाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

यस्तै प्रदेश कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट रकम निकाशा गरी संक्रमण फैलिएका जिल्लाका केहि स्थानीय तहमा रहेका अस्पताल, स्वास्थ्य केन्द्र र अन्य उपयुक्त स्थानमा आइसोलेशन वेड तयार गर्ने तथा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको लागि आवश्यक सामग्री खरिद गर्ने भएको छ ।

नेपाल सरकारबाट स्वीकृत कोभिड १९ को विश्वब्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई फर्काउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७ कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।