के कारणले भयो क्वारेन्टाइनबाट फर्किएकाको घरमै मृत्यु ?

सुर्खेत, २२ जेठ (जागरण) । केहि दिनअघि क्वारेन्टाइनकाे बसाई सकेर घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका १ का एक युवकको घरमै मृत्यु भएको छ ।

विद्यापुरस्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेर घर फर्किएका १९ वर्षिय युवकको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ जेठ ७ गते भारतबाट नेपाल फर्किनुभएको थियो ।

पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले मृतकको स्वाब संकलन गरेर वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिनुभएको छ । त्यसपछि मात्र कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएको वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने टुङ्गो लाग्ने उहाँको भनाई छ ।