तीन महिनाभित्र भारतबाट कर्णाली भित्रिए २७ हजारभन्दा बढी

पंखबहादुर शाही ।
सुर्खेत, २३ जेठ (जागरण) । कोरोनाको महामारीसंगै तीन महिनाको अवधिमा भारतबाट कर्णाली प्रदेशमा भित्रिने नागरिकहरुको संख्या २७ हजारभन्दा बढी पुगेको छ । लकडाउन शुरु भएको गत चैत महिनादेखि हालसम्म २७ हजार ८ सय २४ जना कर्णालीमा भित्रिएका हुन् ।

रोजगारीको शिलसिलामा भारत गएका उनीहरु भारतमा लकडाउनका कारण रोजगारी गुमाएसँगै घर फर्किएका सामाजिक विकास मन्त्रालयअन्तर्गतको श्रम तथा रोजगार महाशाखाले जनाएको छ । महाशाखाका जयप्रसाद आचार्यका अनुसार भारतबाट कर्णाली भित्रिनेमा सबैभन्दा धेरै सुर्खेतका ९ हजार ५ सय ९३ जना रहेका छन् ।

दैलेखका ७ हजार ५ सय २, सल्यानका २ हजार ४ सय ३२, रुकुम पश्चिममा १ हजार ३ सय ४७, जाजकोटमा १ हजार ३ सय ४६, कालिकोटमा ३ हजार ३ सय ४४, जुम्लामा ६ सय ९७, हुम्लामा ७ सय ८७, मुगुमा ४ सय ४२ र डोल्पा ३ सय ३४ जना गाउँ भित्रिएका हुन् ।