कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

सुर्खेत, २३ जेठ (जागरण) । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।
बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए ।
बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । उनिसँगै रहेका अन्य ६ जनाको पनि स्वाब संकलन गर्ने तयारी गरिएको तिवारीले बताउनुभयो ।
योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।