‘रोजगारी र खाद्य संकटलाई जोडेर बजेट ल्याइनुपर्छ’

कृति सुवेदी ।
सुर्खेत, २३ जेठ (जागरण) । संघीय नेपालका तीन तहका सरकारहरुमध्ये केन्द्र सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट जेठ १५ भित्र सार्वजनिक गरिसक्नुपर्छ र प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्छ । जसअन्तर्गत केन्द्र सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको छ भने कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? प्रस्तुत छ, प्रदेशसभा सदस्य गुलावजङ्ग शाहसँग गरिएको कुराकानीः

१) कर्णालीको नीति तथा कार्यक्रमबारे तपाईंको प्रतिक्रिया के छ ?
प्री–बजेट पछि नीति तथा कार्यक्रम आयो । अव बजेट पनि आउला, जुन कुरा नीति तथा कार्यक्रममा लेखिएको छ । त्यहि अनुरुप नै बजेट पनि शब्द शब्द लेखिएर आउनुपर्छ भन्ने हाम्रो कुरा हो ।

२) अब बजेट सार्वजनिक हुने बेला पनि भयो, के कस्ता कुरा बजेटमा समेटिनुपर्छ भन्ने तपाईको सुझाव छ ?
यो मानेमा जुन कोरोनाको महामारी छ । त्यसबाट कसरी बच्ने र बचाउने त्यसमै बजेट केन्द्रित हुनुपर्छ । विगतमा सुरुवात भएका र तत्काल पुरा गर्नुपर्ने योजनाहरु पनि पुरा गर्नुपर्छ । साथै कोरोनाको महामारीले अव उत्पन्न हुने खाद्य संकट कसरी हटाउने भन्नेमै अबको बजेट केन्द्रित हुनुपर्छ भन्ने मेरो भनाई हो ।

३) विगतमा बजेट खर्च नै नहुने र योजना कार्यान्वयन नै नहुने गरेकोमा अब के गरेमा यस्तो समस्या समाधान होला ?
विगतमा ५ देखि ७ प्रतिशत भन्दा बढि रकम खर्च भएन यो चाहिँ सत्य हो । यो कोरोनाले पनि अहिले अप्ठ्यारो पारेको छ, त्यो कुरालाई मनन् गर्दै अहिलेको परिस्थितिमा स्वास्थ्यसँग सम्वन्धित विषयसँग सम्वधित कुरालाई प्राथमिकतामा राखेर बजेट ल्याइएमा कार्यान्वयन नहुने त कुरै भएन ।