दैलेखमा निषेधाज्ञा

दैलेख, २३ जेठ (जागरण) । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई स्थानीयतहमा निषेधाज्ञा जारी गरेको छ । कार्यालयले एक सुचना जारी गर्दै नारायण नगरपालिका र दुल्लू नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको हो ।

सुचनामा जनाइएअनुसार आज साँझ ६ बजेदेखि नारायण नगरपालिकाको पुर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ–भिरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र तथा दुल्लू नगरपालिकाको पुर्वमा माथिल्लो डुङ्गेश्वर–चुप्रा–शिरस्थान, पश्चिममा पादुकाखोला–कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा कुनै पनि खालका गतिविधिहरु नगर्न निषेधाज्ञा जारी गरिएको छ ।

अर्को सुचना जारी नगरुञ्जेल सम्म यदी कसैले आदेशको उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार राजपत्रमा तोकिएको अत्यावश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ् सेवा, आन्तिरिक खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन वाहेकका अन्य कुनै पनि गतिविधिहरु सञ्चाल गर्न पाईने छैन् । साथै कोरोनाको संक्रमणबाट जोगिनाका लागि भेटघाट जमघट तथा भिडभाड नगर्न÷नगराउन पनि आग्रह गरिएको छ ।