कर्णालीमा थप एक सयमा संक्रमण, सात जनाले जिते कोरोनालाई

सुर्खेत, २३ जेठ (जागरण) । कर्णाली प्रदेशमा आज एकैदिन एक सय जनामा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । अब योसहित कर्णालीमा संक्रमितको संख्या ४ सय ८९ पुगेको छ ।

दैलेखका मात्रै ९१ जनामा कोरोना पुष्टि भएको भएको छ । योसहित दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ८ जना पुगेको छ । अहिलेसम्म कर्णालीका ८ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, जुम्ला, मुगु हुम्ला र कालीकोटमा कोरोना सङ्क्रमण देखिएको हो ।

तीमध्ये दैलेखको दैलेखको महाबु गाउँपालिकाका ६ जना, दुल्लु नगरपालिकामा २७ जना जुम्लाको चन्दननाथ नगरपालिकाका ३ जना, हुम्लाको चंखेली गाउँपालिकाका १ जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाका १, जाजरकोटको भेरी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतअन्तर्गत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यसैबीच, कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–१, हाँसे गाउँका २० वर्षे युवामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो । स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।

नेपालमा आज एकै दिन २ सय ७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै दुई हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाकाअनुसार हरेक दिन संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ ।

नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ४० पुगेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ७ जना निको भएका र उनीहरूलाई डिस्चार्ज गरिएको प्रदेश अस्पतालका डाक्टर के एन पौडेलले जागरणलाई बताउनुभयो ।