‘मेरो किसान मेरो अन्नदाता’ निरन्तरता दिने तयारी

सुर्खेत, २५ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले यस वर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

कृषक प्रोत्साहन, कृषि बिमा, सहुलियत कर्जा र न्यूनतम समर्थन मूल्यजस्ता कृषकमैत्री कार्यक्रम संघ र स्थानीय तहसँग साझेदारी तथा सहकार्यमा गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मल, बीउ, बेर्ना, कृषि उपकरणलगायतका आधारभूत कृषि सामग्रीको समयमै उपलब्धता सुनिश्चितता गरिने भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।

कृषि उपज भण्डारणको लागि शीत भण्डार निर्माणलाई प्रात्साहन गरिनेको उहाँको भनाई छ । यसले प्रदेश सरकारले सञ्चालन गरेको मेरो किसान मेरो अन्नदाता अभियानलाई सघाउ पुर्याउने उहाँले बताउनुभएको छ ।