बारीमा लटरम्म फलेका लिची विक्रीमा समस्या

सृजना बुढाथोकी ।
सुर्खेत, २७ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिका– ११ रामघाटका नैनबहादुर शाहीको बगैँचामा लटरम्म लिचि फलेका छन् । तर लिचि किनिदिने कोही पनि छैन ।

गत वर्ष यतिबेलासम्म आधाभन्दा बढी विक्री हुने उहाँको वगैँचाका लिचि अहिले भने खेर जाने अवस्थामा छन् । लकडाउनका कारण लिचि किन्न ग्राहक नपुग्दा प्रति किलो कति रुपैयाँमा बिक्रि गर्ने भनेर मुल्य तय पनि भएको छैन ।

फलेको लिचि विक्री गरेर खर्च टार्ने योजना रामघाटकै देवी चुनाराको पनि छ । तर लकडाउनका कारण उहाँको वगैंचामा फलेको लिची पनि विक्री हुने छाँटकाँट छैन ।

प्रदेश र स्थानीय सरकारले आफुहरुले उत्पादन गरेका फलफुल विक्रि गर्ने वातावरण मिलाइदिए केही महिनाको खर्च टर्ने चुनाराले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा विभिन्न स्थानबाट फलफुल किन्न रामघाट पुग्ने गर्थे । तर यो वर्ष लकडाउनका कारण बाहिरबाट फलफुल किन्न कोही पनि भित्रिएका छैनन् । बगैंचामा फलेका आँप र लिचि विक्री गर्न स्थानीय बजारले भ्याउँदैन ।

जसले गर्दा कृषकहरु चिन्तामा छन् । कृषक लालबहादुर बुढाले स्थानीय सरकारले पनि फलफुलको बजार व्यवस्थापनमा चासो नदेखाएको बताउनुभयो ।

रामघाटका करिब १ सय घरधुरीमा १५ सयको हाराहारीमा लिचिका मात्रै बोट छन् । यसपटक लिचि विक्री नभएपछि आँप पनि विक्रि नहुने हो की भन्ने चिन्तामा कृषक छन् ।

भएको फलफुल विक्री नभएपछि कृषकहरुले यसपटक मुल्य पनि तोकेका छैनन् । लकडाउनको समय भएपनि प्रदेश सरकारले कृषकले उत्पादन गरेका कृषि सामग्रीको बजार व्यवस्थापनतर्फ पनि ध्यान दिन आवश्यक छ ।