मुखामुख गरी छलफल गर्न नपाएपछि युवतीका लागि रेडियो नाटक ‘स्वस्थ रुपान्तरण’

सुर्खेत, २७ जेठ (जागरण) । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण समुदायमै पुगेर मुखामुख गरी छलफल गर्न नपाउने भएपछि सुर्खेतका युवतिहरुका लागि रेडियो नाटक प्रशारण शुरु भएको छ ।

समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्नको साझेदारीमा सुर्खेत जिल्लाको भेरिगंगा र गुर्भाकोट नगरपालिकामा सञ्चालित ‘नेपाली युवाका लागि स्वस्थ रुपान्तरण’ परियोजनाले रेडियो नाटक शुरु गरेको हो ।

स्थानीय रेडियोहरु जागरण एफ. एम. र रेडयो भेरी एफ. एम. बाट रेडियो नाटक स्वस्थ रुपान्तरण हरेक शनिवार बिहान ७ बजे र बेलुकी ५ः३० बजे संचालन भएको छ ।

यो कार्यक्रम युवती समुहका सदस्यहले मोवाइल र रेडियोका माध्यमबाट सुन्ने गरेका छन् । मोवाइल र रेडियोबाट सुनेपछि आफ्ना सुझाव र प्रश्नहरु स्याक नेपालको टोलफ्री नम्बरमा सम्पर्क गरेर टिपाउने गरेका छन् । यसरी युवतीहरुबाट आएका प्रश्नहरुको जवाफ बिषय विज्ञसंग छलफल गरी आउँदो भागमा दिने गरिएको छ ।

हालसम्म २ वटा भाग प्रशारण भएकोमा समुहमा आवद्ध ५० प्रतिशत युवतीहरुले कार्यक्रम सुनेको तथ्यांक प्राप्त भएको परियोजनाले जनाएको छ । रेडियो कार्यक्रमले गर्भवती र सुत्केरी महिलाहरुको स्याहार, परिवार नियोजन सम्बन्धी सचेतना बृद्धि गर्न सहयोग पुर्याएको छ ।

प्रजनन् मातृ तथा नवशिशु स्वास्थ्य हेरचाहमा सहयोग पुर्याइ १५ देख २४ वर्ष उमेर समुहका युवतीहरुको ढिलो विवाह गर्ने र बच्चा ढिलो जन्माउने साथै एक बच्चा देखि अर्को बच्चाको जन्मान्तर कम्तिमा ३ वर्षको फरक पार्ने र गर्भवती तथा सुत्केरी महिलाहरुको रेखदेख गर्ने कार्यका लागि श्रीमान, सासु सुराहरुको भूमिकामा बृद्धि गदै स्थानीय स्वास्थ्य संस्थाहरुको क्षमता बृद्धिमा सहयोग पुर्याउन परियोजना संचालन भएको हो ।