स्थानिय तहमा प्रयास भएकै छन् तर प्रर्याप्त छैनन्

पंखबहादुर शाही ।

सुर्खेत, २७ जेठ (जागरण) । स्थानिय तह भनेका हामी आम नागरिकको सवैभन्दा नजिकको सरकार हो । स्थानिय तहका सरकारहरुले आफ्ना नागरिकका माग र आवश्यकताको आधारमा योजना बनाउने र कार्यान्वयन गराउने गर्नुपर्दछ । अहिले त्यस्ता स्थानिय तहका सरकारका काम कारबाही के कस्ता छन् त ? यसै सन्दर्भमा रहेर हामीले तपाईंको स्थानिय तहका पछिल्ला काम कारबाहीबारे के भन्न चाहनुहुन्छ ? भनेर फेसबुक पेज facebook.com/jagarannework र फोन सम्पर्कमा रहनुभएका नागरिकलाई सोधेका छौँ ।

फेसबुकमा व्यक्त गरिएका प्रतिक्रिया यस्ता छन्ः

१) रमेश खनाल । दुल्लु नगरपालिका–८ दैलेख ।
म यसबारे धेरै टिप्पणी गर्न त चाहन्न तर, हाम्रा स्थानिय तहहरुको काम कारबाही जनअपेक्षा अनुरूप कहिल्यै भएको थिएन । झन अहिले कोरोना कहरले लहरदहर डट कम भएको छ ।

२) दयाराम राना, चिङ्गाड गाउँपालिका ६ पाम्का सुर्खेत । हाल भारत गोवा ।
स्थानीय तहले प्रवासमा रहेका तथा अलपत्र परेका आफ्ना नागरिकलाई ल्याउने जुन किसिमको सक्रियता देखायो त्यो निकै सराहनीय कार्य थियो । तर, पछिल्लो पटक क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य जाँचमा भइरहेको लापरबाही खेद जनक छ ।

३) डम्बर बहादुर थापा (डेकेन्द्र) । ठाटीकाँध गाउँपालिका दैलेख, हाल मलेसिया ।
छोटे महराजहरुलाई भन्न त धेरै थियो । तर, लेख्न सम्भव नै छैन । यति मात्र भनम । के हुँदैछ ? भइराखेको छ ? हेर्दै छौँ ।

४) भिम बहादुर थापा मगर, चिङ्गाड गाउपालिका –१ सुर्खेत ।
स्थानीय सरकारले लकडाउन भएको १५ दिन नहुँदै राहत भन्दै १ प्याकेट नुन र एक प्याकेट चामल बाँडेका थिए । कस्तो खालको चामल बाडेछ हौ सङ्गिनी सुई जस्तो ३ महिना ढुक्क । अहिले सम्म न कुनै प्रभाबकारी योजना नै भयो न ती तय भएका योजनाको प्रभावकारी रूपमा ब्यबस्थापन गर्न सके ।

५) चन्द्र बहादुर शाही । वीरेन्द्रनगर नगरपालिका सुर्खेत ।
स्थानीय तहका काम कारबाही सराहनीय छन् । तर, पनि प्रयाप्त मात्रामा भएको देखिदैन । पछिल्लो समय भारतबाट आउनेको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ । तर क्वारेन्टाइन निर्माण तथा परिक्षणको दायारा तिव्र रुपमा वृद्धि गर्न सकिएको छैन । भएका क्वारेन्टाइन पनि अपुग देखिन्छन् र अपेक्षित रुपमा ब्यबस्थित छैनन् भन्ने गुनासो सुन्नमा आइरहेका छन् । जनताका यस्ता गुनासोहरुको मान राखी स्थानीय तह अझ धेरै जिम्मेवार भइ एउटा अभिभावक सरह भुमिका निर्वाह गर्नुपर्छ ।

६) विमल विसी । पञ्चपुरी नगरपालिका –५ छाप्रे सुर्खेत ।
अहिले लकडाउनको समय छ । मान्छेहरु हरेक खालका समस्यामा छन् । रोग भन्दा पनि भोकले मरिने संकेत देखिन्छ । यस्तो अबस्थामा स्थानीयतहहरुले यता पनि ध्यान दिने की । स्थानीय तहमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका केही व्यक्ती जथाभावी हिडिरहनुभएको छ । स्थानीय तहको ध्यान जावस र क्वारेन्टाइन मा रेहेका व्यक्तीको नियमित परिक्षण गरियोस् ।

७) बाबुराम पराजुली, सुर्खेत ।
हामीलाई घरमै बस भन्छन् । बाहिर के छ थाह छैन । हेर्ने सामाजिक सञ्जाल हो । कोरनाको उपचार दैलेख तिर कसम खुवाएर गरिदै छ रे । कुरो के हो ? बजेट कता गयो ? किन व्यवस्थापन नगरेको ? समुदायमा संक्रमण जाने अवस्था किन बनाएको? स्पष्ट पारिदिए आभारी हुने थिएँ ।

८) एलबी रोकाया । ठाटीकाँध दैलेख ।
जति जोगि आए पनि कानै चिरिएका जस्तो छ ।

 

तपाईंको स्थानिय तहका पछिल्ला काम कारबाहीबारे के भन्न चाहनुहुन्छ ? भन्ने प्रश्नको आधारमा प्रत्येक्ष रुपमा व्यक्त गरिएका प्रतिक्रियाहरु यस्ता छन्ः

१) ललित बहादुर रोकाया, भेरीगंगा नगरपालिका–१० सुर्खेत ।
हाम्रो नगरपालिकाले सके सम्मको तयारी गरेकै छ । अझै पनि केही कामहरु प्रभावकारी रुपमा गर्नुपर्ने देखिन्छ । अहिले वडा वडामा क्वारेन्टाइनको व्यवस्थापन गरिरहेको छ ।

२) विमला कुमारी कार्की, चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ दैलेख ।
हाम्रो नगरपालिकाले अहिले सम्म सकेको गरिरहेको छ । क्वारेन्टाइन बनाएको छ । भारतबाट आउने नागरिकहरुलाई व्यवस्थापन गरिरहेको छ । खानपिनको पनि सकेसम्म व्यवस्थान गरेकै छ । राहत वितरणमा पनि काम भइरहेका छन् । मेरो बिचारमा त्यस्तो नराम्रो केही देखिएको छैन ।

३) रमेश कुमार वि. क., ठाटीकाँध गाउँपालिका दैलेख ।
यो महामारीको समयमा ठाटीकाँधले गरेका कामहरु सहानिय छन् । तर, प्रर्याप्त मात्रामा हुन सकिरहेका छैनन् । क्वारेन्टाइन व्यवस्थापनमा पनि राम्रोसँग हुन सकिरहेको अबस्था छैन । स्वास्थ्य सामग्रीहरुको अभाव भएको देखिन्छ । अहिले सम्म राहत वितरण भएको छैन । दैनिक ज्यालादारी गरेर खाने नागरिकहरु समस्यामा छन् । यो विषयमा गाउँपालिकाले सोच्नुपर्ने हो । साथै परिक्षणको कामहरु तिव्र बनाउन नसकिरहेको अबस्था छ ।

४) ज्ञानुकुमारी सुवेदी गैरे, वीरेन्द्रनगर नगरपालिका सुर्खेत ।
अहिलेका समयमा शिक्षा स्वास्थ्य क्षेत्रमा निकै समस्या भइरहेको छ । यसमा नगरपालिकाले गरेको काम, प्रयासहरु उहाँहरुलाई राम्रै गरेका छौँ भन्ने लागेको होला । गर्नु पनि भएको छ । तर, कुरा के हो भने जुन व्यवस्थापन अहिले गर्न कठिनाई भइरहेको अबस्था छ त्यो कुराहरु समयमा नै सोचेको भए केही सहज वातावरण हुन्थ्यो । समयमा नै योजनावद्ध रुपमा नगएर बसिदिँदा केही असहजता भएको होकी भन्ने हामीलाई लागेको छ ।