नन्द कठायत ।
सुर्खेत, २७ जेठ (जागरण) । कर्णाली प्रदेशका केही क्वारेन्टाइनमा बसेका नागरिकहरुले खाली समयमा उदाहरणिय कार्य गरेका छन् । कतिपय ठाउँमा क्वारेन्टाइनमा बसेकाहरु नै त्यहाँबाट भाग्ने गरेको गुनासो आइरहँदा केहि नागरिकले भने खाली समयमा काम गरेर गतिलो उदाहरण प्रस्तुत गरेका हुन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिका वडानम्वर ५ अवलचिङ्गस्थित महिला सशक्तिकरण केन्द्रको भवनमा बसेका नागरिकहरुले क्वारेन्टाइन बसाइकै क्रममा फिल्ड निर्माण तथा घेरबार निर्माण गरेका हुन् ।
भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका १७ जनाको समूहले एक अर्कामा दूरी कायम गरी चिटिक्कको फिल्ड तथा भवन घेरबारको काम गरेका छन् ।
भवन निर्माणको लागि आफ्नो–आफ्नो घरबाट निर्माण सामग्री क्वारेन्टाइनसम्म पुर्याउन लगाएर काम गरेको स्थानिय डिलबहादुर साउँदले जागरणलाई बताउनुभयो ।
उहाँकाअनुसार महिला सशक्तिकरण केन्द्रको किनारामा १२ मिटरको फिल्ड निमार्ण र केन्द्रको घेरबारको लागि पर्खालको निर्माणको काम हाल भइरहेको छ ।
क्वारेन्टाइनमा बसेकाहरुले सिर्जनसिलता देखाएर गरेको यस्तो काम देखेर अन्य स्थानिय नागरिकहरु आफ्नो गाउँ आफैले निर्माण गर्ने हो भन्दै अझै उत्साहित बनेका भैरव माध्यमिक विद्यालयका शिक्षक सुकदेव उपाध्यायले बताउनुभएको छ ।
यसैगरी कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका नागरिकले विद्यालयमा सिंढी र फोहोर व्यवस्थापनका लागि खाल्डो निर्माण गरेका छन् ।
भारतबाट फर्किएका ७९ जना गाउँपालिकाको वडा नम्बर ४ राम्नाकोटको ज्ञानोदय माध्यमिक विद्यालयमा बसेका छन् । उनिहरुले त्यत्तिकै बसेर दिन बिताउनुभन्दा विद्यालयलाई चिनो छाडेर घर जाने उद्देश्यले श्रमदान गरेको बताएका छन् ।
विद्यालयले सिमेन्ट बालुुवा उपलब्ध गराएको र क्वारेन्टाइनमा बसेकाकहरुले ९ मिटर लामो सिंढी तथा कुहिने र नकुहिनेगरी फोहोर फाल्ने दुइवटा खाल्डो निर्माण गरेका पचालझरना गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनरुप रोकायाले बताउनुभयो ।