यसपालीको सरसफाई सप्ताह कोरोना केन्द्रित

सुर्खेत, २८ जेठ (जागरण) । यसपालीको राष्ट्रिय सरसफाई सप्ताहलाई कर्णाली प्रदेशमा कोरोना भाइरस विरुद्धको सतर्कतासँग जोडेर विभिन्न गतिविधि गरिएका छन् ।

कुनै पनि भाइरस फोहोर ठाउँमा बढी मौलाउने भएकाले रोकथाम तथा प्रतिकार्यका लागि सरसफाई अनिवार्य हुने निष्कर्ष सहित सप्ताहको अवसर पारी गरिएका गतिविधिहरु कोरोना भाइरसँग जोडेर गरिएका हुन् । हरेक वर्ष जेठ २२ देखि २९ सम्म सरसफाई सप्ताह मनाउने गरिन्छ ।

कर्णाली प्रदेशका चार जिल्ला र सुदुरपश्चि प्रदेशको एउटा जिल्लामा हेल्भेटास् वार्मपीले सञ्चालन गरिरहेको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमबाट सप्ताहको अवसरमा स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।

कर्णाली प्रदेश कालीकोटको नरहरीनाथ र शुभकालिका गाउँपालिका तथा राष्कोट नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिका, सुर्खेतमा सिम्ता गाउँपालिका र लेकवेशी नगरपालिका, दैलेखमा दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिका तथा प्रदेश नम्बर ५ को अछाममा कमलबजार नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

साबुन, स्वास्थ्य सुरक्षा सामग्री (पीपीई), सेनिटाइजर, मास्क, हातले नछोइकन हात धुन मिल्ने स्टेशन लगायत सामग्री उपलब्ध गराएको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास् वार्मपीका हेल्भेटासका क्षमता अभिवृद्धि तथा सामाजिक विकास संयोजक निलकण्ठ पाण्डेयले कर्णाली रैवारलाई जानकारी दिनुभयो ।

उहाँले विगतमा जस्तो मानिस जमघट नगरिएको र सुरक्षित तरिकाले आफ्नो कार्यक्षेत्रका स्थानिय तहहरुमा प्रत्येक घरधुरीहरुलाई प्रयोगात्मक रुपमा साबुन पानीले हात धुन सिकाउने गरेको बताउनुभएको छ ।

साथै आठओटै पालिकाका क्वारेन्टाइनमा भएका महिलाहरुका लागि एक पटकको लागि महिनावारी प्याड समेत वितरण गर्ने योजना समेत बनाइएको बताउनु भएको छ ।