सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली पर्यटन बोर्ड खारेज गर्न कर्णाली प्रदेशको संसदीय समितिले प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
कर्णाली प्रदेशसभाको विद्यायन तथा प्रदेश मामिला समितिको आज बसेको बैठकले कर्णाली पर्यटन बोर्ड गठन आदेश २०७६ खारेज गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्र्तगत कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन बोर्डको गठन गरेको थियो । कर्णाली प्रदेशको संसदिय अभ्यासमा कर्णालीमा प्रदेश सरकारले गठन गरेको बोर्ड वा संस्थान खारेज गर्ने यस्तो निर्णय पहिलो हो ।
कर्णाली पर्यटन बोर्ड (गठन) आदेश २०७६ को संवैधानिक एवं कानुनी औचित्यमाथि समितिमा व्यापक छलफलपछि यस्तो निर्णय गरिएको समितिका अध्यक्ष पदम रोकायाले जानकारी दिनुभयो ।