कर्णालीमा संक्रमितको संख्या सात सय नाँघ्यो, प्रदेश अस्पतालको आकस्मिक कक्ष बन्द

सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या ७ सय ८ पुगेको छ ।

पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नंम्बर १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिलालाई संक्रमणको पुष्टी भएको छ । यसैगरी सुर्खेतको बराहताल गाउँपालिका ४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका १२ का दुईजना महिला, १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । यसैगरी सिम्ता गाउँपालिका ३ का एकजना पुरुष रहेका डाक्टर तिवारीले बताउनुभयो ।

जाजरकोटको छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका १, का एकजना पुरुषमा पनि संक्रमण पुष्टी भएको महाशाखाले जनाएको छ ।

प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म कोरोना पुष्टि भएका मध्ये तीन जनाको मृत्यु भइसकेको छ, भने २९ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार आज २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ । कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । आज ९० जना डिस्चार्ज भएका हुन् ।

यसैबीच, सर्पले टोक्दा अस्पताल भर्ना गरिएका एकजना पुरुषलाई कोरोना देखिएपछि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष शिल गरिएको छ ।

बराहताल गाउँपालिका –४ को भेरी माध्यमिक विद्यालयस्थित क्वारन्टाइनमा बसेका ५० वर्षिय पुरुषलाई सर्पले टोकेपछि अस्पताल भर्ना गरिएकोमा उहाँमा कोरोनाको संक्रमण फेला परेको हो । बिरामीलाई अस्पतालसम्म पुर्‍याउने आफन्तले क्वारेन्टाइनमा बसेको कुनै जानकारी नदिएकाले अस्पतालमा तनाव सृजना भएको छ ।

अस्पताल भर्ना भएका बिरामीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष शिल गरिएको र उपचारमा खटिएका पाँचजना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो । साथै खड्काले नागरिकहरुबाट नै सही सुचना नआएपछि डक्टरहरुलाई समेत काम गर्न असहज वातावरण सृजना हुने जानकारी गराउनुभयो ।