बन्दाबन्दीमा गर्भवतीलाई पोषणयुक्त कोशेली

सुर्खेत, २९ जेठ (जागरण) । हाल नेपाल बन्दाबन्दीको अवस्थामा छ । गत चैत ११ गते देखिको नियमित बन्दाबन्दीको असर सर्वसाधारण लगायत सवै सामाजिक, आर्थिक क्षेत्रहरुमा निरन्तर परिरहेको छ । यो अवधिमा बालबालिका, सुत्केरी महिलाहरु र गर्भवतीहरु देखि जेष्ठ तथा असहाय नागरिकहरु सबैभन्दा बढी प्रभावमा परिरहेका छन् ।

कोरोनाको कहरले एकातिर सवै समुदाय आक्रान्त छ भने अर्कोतिर सुपोषित खानाको अभावमा सुनौलो हजार दिनका आमाहरु र २ वर्षमूनिका बच्चाहरु कुपोषणको शिकार हुन सक्ने जोखिम बढ्दै गएको छ ।

सुनौला हजार दिनका आमाहरुमा पोषणको समस्या नपरोस् र बच्चाहरु कुपोषित नहुन भन्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ ले सवै गर्भवतीहरुलाई पोषणयुक्त खाना वितरण कार्यको थालनी गरेको छ ।

हाल उक्त वडाले त्यस वडामा रहेका विभिन्न स्वास्थ्य आमा समूहहरु अन्तर्गतका ३४ जना गर्भवतीहरु र ६ जना दुई वर्ष मूनिको बच्चाको आमाहरुलाई एक क्यारेट अण्डा, दुइ किलो दाल, एक लिटर खाने तेल, हरियो सागसब्जी, एक पकेट आयोडिनयुक्त नुन, मसलाहरु लगायत हात धुने सावुन उपलब्ध गराएको छ ।

यसैगरी बाँकी गर्भवतीहरुलाई पनि यसै हप्ताभित्र उपलब्ध गराउने योजना रहेको स्वास्थ्यचौकी प्रमुख नवीन भुसाल बताउनुहुन्छ । सामाजिक र भौतिक दुरीलाई मध्यनजर गरेर पोषणयुक्त कोशेली वितरण गरिएको प्रमुख भुसालले जानकारी गराउनुभयो ।

वीरेन्द्रनगर १३ मा कार्यरत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सहवीर सुनार वडाले गर्भवतीका लागि पोषणयुक्त कोशेली वितरण गरेकोमा खुशी व्यक्त गर्नुहुन्छ ।

यो लकडाउनको अवधिमा थोरै भएपनि पोषणयुक्त खानाले यस वडाका गर्भवतीहरुको स्वास्थ्यमा रोग प्रतिरोधी क्षमतामा सुधार आओस र खाने आनीवानीमा पनि परिवर्तन आओस भन्ने उद्देश्य रहेको वडाध्यक्ष भुपेन्द्र बहादुर दर्लामी मगर बताउनुहुन्छ ।

साथै वडाध्यक्ष दर्लामी मगरले वडाले सुनौलो हजार दिनका आमा लक्षित विनियोजन गरेको बजेटमार्फत उक्त गर्भवतीहरु सम्मानित भएको जानकारी दिनुभयो ।

पोषण सुधारका लागि सुआहारा कार्यक्रम समाज जागरण केन्द्र (स्याक) नेपालले विगतदेखि संचालन गरिरहेको कार्यक्रमका संयोजक रेशम चन्दले बताउनुभएको छ ।

हाल बन्दाबन्दीको अवस्थामा समेत फोन सम्पर्क मार्फत २८ हजार १ सय २९ घरधुरी र त्यस मध्ये ६ हजार २ सय ९२ हजार दिनका आमाहरुलाई कोभिड १९ को लक्षण, यसबाट बच्न अपनाउनु पर्ने सावधानी, घरपरिवारले गर्नुपर्ने सरसफाई र पोषणयुक्त खानपान, उक्त घरको सपरिवारको स्वास्थ्य अवस्था, खाद्यान्नको अवस्थातथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले हाल चालिरहेका कदमहरु र मानेसामाजिक परामर्श दिन सफल भएको कार्यक्रम संयोजक चन्दले जानकारी गराउनुभयो ।