अनुमानभन्दा धेरै भित्रिए, स्वास्थ्य उपचार र व्यवस्थापनमै समस्या

सुर्खेत, ३० जेठ (जागरण) । कर्णाली प्रदेशमा अनुमान गरिएभन्दा धेरै नागरिक भारतबाट फर्किएकाले कोरोना भाइरस परीक्षणमा समस्या भएको छ । प्रदेश सरकारले १५ जना भारतबाट भित्रिनसक्ने अनुमान गरेकोमा हालसम्म करिव ४० हजार जनाको हाराहारीमा भित्रिसकेका छन् ।

जसले गर्दा स्वाब संकलन गर्न नै धेरै समय लाग्ने र संकलित स्वाबको जाँच तथा रिपोर्ट आउन पनि बढी समय लागिरहेको हो । हालसम्म १२ हजारभन्दा धेरैको पीसीआर विधिबाट जाँच गरिएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले हाल तालिका बनाई परीक्षणको प्राथमिकता कसलाई दिने भन्ने बारे खाका तयार गरेको छ । विशेषगरी भारतका प्रभावित क्षेत्रबाट फर्किएकाहरुलाई पहिलो प्राथमिकता दिइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीकाअनुसार हालसम्म जेठ ११ गतेदेखि १५ गतेभित्र भारतबाट भित्रिएकाहरुमध्ये धेरैमा कोरोना संक्रमण देखिन सक्ने अनुमान छ ।

निर्देशक जोशीले परिक्षणको दायरा बढाउन मेसिन थप गर्नेसँगै अन्य आवश्यक स्वास्थ्य सामग्री पनि थप गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहसँगको सहकार्यमा संक्रमणको जोखिममा हुनसक्ने दीर्घ रोगी, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, बालबालिकाको विवरण लिई विशेष निगरानीमा राखिनेछ ।

समुदायमा संक्रमण फैलिन नदिनका लागि जनचेतना बढाउने र सरोकारवालासँग समन्वय सहकार्य गर्ने उहाँको भनाई छ । निर्देशनालयले बढ्दो मानसिक समस्यालाई मध्यनजर गर्दै क्वारेन्टाईनमा रहेकालाई मनोसामाजिक परामर्शदाताद्वारा परामर्श गर्ने तयारी गरेको छ ।