अधिकांश क्वारेन्टाइनमा खानेपानी र सरसफाइलाई ध्यान दिइएन

नन्द कठायत ।
सुर्खेत, ३० जेठ (जागरण) । कर्णाली प्रदेशका विभिन्न जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा खानेपानी र सरसफाईको अवस्था चिन्ताजनक रहेको पाइएको छ ।

अधिकांश ठाउँमा विद्यालय र सामुदायिक भवनहरुलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएकोमा केहिमा ठिकै व्यवस्था रहेको भए पनि धेरैजसोमा खानेपानी, सरसफाई र शौचालयको अवस्था गतिलो नभएको हो ।

कतिपय क्वारेन्टाइनमा त छुट्टाछुट्टै समयमा फरक फरक ठाउँबाट फर्किएकाहरुलाई सँगै राखिएको र खानेपानीका लागि तयार गरिएको धारा, शौचालय लगायत संयुक्त रुपमा प्रयोग गर्नुपर्ने अवस्था रहेकोले एकअर्कामा संक्रमण बढ्नसक्ने भन्दै चिन्ता छ ।

कालिकोटको नरहरीनाथ गाउँपालिकाले सदरमुखकामस्थित खाँडाचक्र नगरपालिकास्थित एक होटलमा क्वारेन्टाइनको व्यवस्था गरेकोमा अहिले सम्म रेखदेखका लागि कोही नपुगेको र स्वास्थ्य सुरक्षा सामग्रीसमेत उपलव्ध नभएको क्वारेन्टाइमा बसेका नविन भट्टराइले गुनासो गर्नुभयो ।

कालिकोटकै रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका अम्मप्रसाद सञ्ज्यालले क्वारेन्टाइनमा स्वास्थ्य सामग्री, साबुन, सेनिटाइजर, मास्क, नभएको गुनासो गर्नुभयो । उहाँले सबै क्वारेन्टाइनमा बसेका १० टिमले एउटै धारामा झुम्मिने गरेको बताउनुभयो ।

सुर्खेतको लेकवेशी नगरपालिका १० का नकेन्द्र कुमार खड्काले अहिले आफु बसेको क्वारेन्टाइनमा ३९ जना रहेका र आफुहरुले नगरपालिकामा सम्पर्क गर्दा पनि उनिहरुले सरसफाई र खानेपानीको प्रर्याप्ततामा ध्यान नदिएको बताउनुभयो ।

दैलेखको ढुङ्गेश्वर गाउँपालिका ५ को पिपल चौतारा विद्यालयको क्वारेन्टाइनमा बसेका नागरिकहरुले पनि चारवटा कोठामा आफूहरु करिव ९० भन्दा धेरैले एउटै शौचालय प्रयोग गर्ने गरेको स्थानिय दिपक गाह मगरले गुनासो गर्नुभयो । तर कतिपयले भने राम्रो प्रतिक्रिया पनि दिएका छन् ।

दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा बसेका राजबहादुर कार्कीले पनि स्वास्थ्य, सरसफाई र स्थानिय सरकारले गरेको काम राम्रो भएको बताउनुभएको हो । स्थानिय तहका अधिकारी र जनप्रतिनिधिहरुले आफ्नो साधन स्रोतले भ्याएरसम्म सवै सुविधा प्रदान गरिएको प्रतिक्रिया दिएका छन् ।