टेकराज केसी ।
दैलेख, ९ जेठ (जागरण) । दैलेख गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र रहेका केहि विद्यालय समायोजन (मिसाउने र घटाउने) गरेपछि त्यसको चौतर्फी विरोध भएको छ ।
गाउँपालिकाले विद्यार्थी संख्याको आधारमा विद्यालय संचालन गर्नुपर्ने भन्दै केहि विद्यालय समायोजन गरी केहि विद्यालयमा दरबन्दी मिलानसमेत गरेको छ भने केहि शिक्षकहरुको पनि सरुवा गरिएको छ ।
त्यसको विरोधमा केहि अविभावक र शिक्षकहरुले विरोध जनाएका छन् । उनीहरुले गाउँपालिकाले निर्णय गर्नु अगाडी व्यापक छलफल नगरेको गुनासो गरेका छन् ।
गुराँस गाउँपालिका वडा नम्बर ५ मा रहेको सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर चन्दले विद्यार्थी संख्याको आधारमा विद्यालयको दरबन्दी मिलन गर्नु सही भएपनि आफ्नो विद्यालयमा ४ जना दरबन्दी अनिवार्य भएको बताउनुभयो ।
तर गाउँपालिकाले एउटा दरबन्दी काटेको भन्दै यो निर्णयको उहाँले विरोध गर्नुभयो । गाउँपालिकाले केन्द्र र संघ सरकारभन्दा माथी उठेर काम गरेको उहाँको दावी छ ।
अर्का शिक्षक दशरथ चन्दले पक्षपातको अधारमा शिक्षक सरुवा गरिएको भन्दै यो निर्णय बदल्न गाउँपालिकालाई आग्रह गर्नुभयो ।
उहाँले केहि व्यक्तीहरुलाई पायक पर्ने नाममा शिक्षकहरु सरुवा गरिएको भन्दै आफुलाई त्यसमा दुःख लागेको बताउनुभयो ।
गुराँस गाउँपालिका वडा नम्बर ६ बडाअवलमा रहेको जनकल्याण प्राथमिक विद्यालयलाई कक्षा ५ बाट ३ मा झारिएको भन्दै त्यहाँका अविभावकले विरोध जनाएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर विसीले वडा कार्यालय, गाउँपालिका कुनैपनि निकायले कुनै जानकारी नदिएको र एक्कासी निर्णय गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
उहाँले यहाँका विद्यार्थीहरुलाई अन्य विद्यालयमा जान बर्षायामको समयमा समस्या भएको भन्दै जानकारी बिना नै निर्णय गरिएको दावी गर्नुभयो ।
यता, गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको जनसहयोग नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खनारालाई घटुवा गरिएकोमा विरोध जनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर खड्काले गाउँपालिकाले गरेको निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्नुभयो ।
उहाँले अविभावको चित्त दुखाएर गाउँपालिकाले गरेको निर्णय मान्य नहुने भन्दै दुःखले बनाएको विद्यालयमा एउटा पनि दरबन्दी नदिनु गलत भएको बताउनुभयो ।
त्यहाँका अविभावक रेशम बहादुर ओलीले कम्तीमा एउटा दरबन्दी त राख्नुपर्ने ? भन्दै प्रश्न दरबन्दी नदिइएकोमा प
श्न गर्नुभयो ।
गाउँपालिकाले भने विद्यालयलाई नभई विद्यार्थीलाई पढाउनुपर्ने भन्दै यो निर्णय कुनैपनि हालतमा परिवर्तन नहुने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले पहिले विद्यालय खोल भन्दै कागजमात्र दिने गरिएको भन्दै त्यसरी विद्यालय खोल्दा शिक्षामा परिवर्तन नहुने बताउनुभयो ।
उहाँले विद्यार्थी संख्याको अधारमा विद्यालय संचालन हुने बताउँदै त्यहीअनुसार नै दरबन्दी मिलान गरिएको बताउनुभयो ।
उहाँले विद्यालयका भौतिक संरचना मात्र भएको तर विद्यार्थी संख्या नभएका विद्यालयलाई समायोजन गर्ने कार्य जारी रहने बताउनुभयो ।
गाउँपालिकाले ५ कक्षा सम्म संचालन भएका ६ वटा विद्यालयलाई ३ कक्षामा २ वटा तत्कालिन निम्न माद्यमिक विद्यालयलाई प्राथमिक विद्यालयमा घटुवा गरेको थियो भने ३ वटा विद्यालयलाई मर्ज गरेको थियो ।