सरकारले राम्रो कामको शुरुवात गरेको छ, सवैले साथ दिऔँ

कृति सुवेदी ।
सुर्खेत, ३० जेठ (जागरण) । नेपाल सरकारले मिचिएको भूमीलाई समेटेर नयाँ नक्सा पनि सार्वजनिक गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले अतिक्रमण गरेको आफ्नो भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो । सरकारले मिचिएको भूमि फिर्ता ल्याउन सक्छ वा सक्दैन त्यसको अहिले चौतर्फी चासोको विषय बनेको छ ।
यसैगरी नेपालको मिचिएको भूमी फिर्ता ल्याउन सकिने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ? भन्ने प्रश्नको आधारमा व्यक्त गरिएका विचारहरुः
१) जीवन बिस्वकर्मा, ठाटिकाँध दैलेख ।
अहिले यो लिपुलेख लिम्पियाधुराको विषयमा चर्को विरोध भैरहेको छ र जो भारतले हाम्रो भूमि हडप गरेको छ । यसमा कुनै पनि राज्यले कुनै पनि राज्यलाई हस्तक्षेप नगर्ने भनी संयुक्त राष्ट्रसंघमा पनि सम्झौता भएको छ । त्यसकारण भारतले सहमतिमा फिर्ता गर्छ भने ठिक छ । हैन भने संयुक्त राष्ट्रसंघ समक्ष मुद्दा दायर गरेर पनि फिर्ता ल्याउनुपर्छ ।

२) अस्मिता नेपाली, इत्राम सुर्खेत ।
मिचिएको जमिन नेपालको हो त्यसकारण नेपालले फिर्ता पाउनै पर्छ । त्यसको लागि नेपाली जनता र नेपालको सरकार मिलेर आवश्यक पहल गर्नुपर्छ ।

३) डिकेन्द्र थापा, गुराँस गाउँपालिका दैलेख ।
यो चाहिँ फिर्ता आउनैपर्छ आउँछ कि आउदैन भन्दा पनि यस क्रममा अहिले नेपाल सरकारले गरेको काम एकदमै उच्चस्तरिय छ । यसमा नेपाली जनता र नेपाल सरकारले मिलेर होस्टेमा हैँसे गरेर सहकार्य गरेर काम गरेमा पक्कैपनि फर्ता हुन्छ र यो हुनुपर्छ ।