सुर्खेत, ९ जेठ (जागरण) । सुर्खेतको वराहाताल गाउँपालिकाले आफ्नो सेवालाई प्रभावकारी बनाउनका लागि सीसी टिभी क्यामेरा जडान गरेको छ ।
काममा ढिलाई हुन नदिन जनताको मागअनुसार सीसी टिभी जडान गरिएको हो । सीसी टिभी जडानपछि गाउँपालिकाका कर्मचारीहरुको कार्यसम्पादनको मूल्याङ्कन गर्न सजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जनताको कामलाई सहि ढङ्गले काम गर्नुपर्ने मान्यताका साथ सीसी टिभी क्यामेराबाट निगरानी राख्न सुरु गरिएको हो ।
उहाँले गाउँपालिकामा हुने अन्य गलत क्रियाकलापको पनि निगरानी राख्न सकिने भन्दै अब कार्यालय समयमा कसैले पनि गलत कार्य गर्न नपाउने बताउनुभयो ।
यस्तै, गाउँपालिकामा कार्यलय समयमै कर्मचारीहरुको उपस्थितिको लागी विद्युतिय हाजिरीको पनि शुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।