पंखबहादुर शाही ।
सुर्खेत, ३ असार (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकारले ल्याएको बजेट आशा लाग्दो नभएको बताएका छन् ।महामारी, भोकमरी र रोजगारमुखी नारा ल्याइएपनि सबै क्षेत्रलाई सुनिश्चित हुने खालको बजेट नभएको उनीहरुले बताएका हुन् ।
पढ्दा राम्रो तर सबै क्षेत्रलाई समेट्ने खालको बजेट नआएको सरोकारवालाहरुको प्रतिकृया छ । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले प्रदेश सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको जनाएको छ ।
महासंघका कर्णाली प्रदेश संयोजक पदमबहादुर शाहीले अर्थतन्त्रको पुनरुत्थान गर्न बजेटमा ठोस उत्प्रेरणामूलक राहत प्याकेज आवश्यक भए पनि त्यसो नभएको र यसले ठूलो तथा सकारात्मक प्रभाव पार्न नसक्ने जागरणलाई बताउनुभयो ।
रोजगारी केन्द्रित नारा भनिएपनि रोजगारी केन्द्रित आएको बजेटले कुनै प्रकारका रोजगारी सृजना हुन नसक्ने उहाँले दावी गर्नुभयो । रोजगारी बढाउन र वृद्धि गर्नका लागि उद्योग कलकारखाना व्यापारलाई सहज बनाउनु पर्ने भन्दै यो क्षेत्रमा बजेट नभएको उहाँको भनाई छ ।
यद्यपी, केही सकारात्मक पक्ष रहेको बताउँदै संयोजक शाहीले सुर्खेत विमानस्थल विस्तार गर्न ५० करोड बजेट छुट्याइएकोमा खुसी व्यक्त गर्नुभयो ।
यसैगरी शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका प्रदेश संयोजक टिकाराम आचार्यले प्रदेश सरकारले ल्याएको बजेटमा कर्णालीको शिक्षालाई सुनिश्चित गर्ने खालको बजेट नआएको टिप्पणी गर्नुभयो ।
उहाँले अहिले सम्म शिक्षासँग आवश्यक पर्ने कुनै पनि कानुनहरु प्रदेशमा आउन नसकेकाले विनियोजित टुक्रे बजेटलाई कार्यान्वयन गर्न नसकिने समस्या प्रदेशमा रहेको बताउनुभयो । साथै उहाँले शिक्षा क्षेत्रको बजेट अहिलेको समस्या र परिस्थिती केन्द्रित नभएर सामान्य समयमा ल्याइने बजेटजस्तै ल्याइएको बताउनुभयो ।
संयोजक आचार्यले अहिले माध्यामिक शिक्षा क्षेत्रलाई उपेक्षित गरिएको पनि बताउनुभयो । उहाँले संघीय सरकारले पठाएको निर्देशिकालाई प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
यता सामाजिक क्षेत्रमा क्रियाशिल आवाज संस्था सुर्खेतका निर्देशक पवित्रा शाहीले कोरोना केन्द्रित भनिएको बजेटमा कोरोनाको कहरभित्र लैङ्गीकताको सवालमा ध्यान नदिइएको बताउनुभयो ।
उहाँले आइशोलेसन, क्वारेन्टाइनमा भएका महिला, अपाङ्गता भएका बालबालिकाहरु लक्षित कुनै खालका कार्यक्रमहरु नसमेटिएको बताउनुभयो ।