चिन्ता नलिनुहोस् ! कृषिवस्तुको मूल्य तोकिन्छ र खेतीले बजार नपाए क्षतिपूर्ती पनि

सुर्खेत, ३ असार (जागरण) । उत्पादन भएका कृषिबस्तुको बजारिकणमा सहयोग गर्न कर्णाली प्रदेश सरकारले लागत मूल्य निर्धारण गर्ने भएको छ ।
उत्पादित कृषिवस्तु विक्री नहुने गरेको र विक्री भइहाले पनि कृषकले बालीमा गरेको मेहनत तथा लागत बजेट नै नउठ्ने गरेको भन्दै प्रदेश सरकारले अव मूल्य निर्धारण गर्ने तयारी गरेको हो ।
प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजारको अवस्था र कृषकको लागतको आधारमा एउटा विधी तयार गरी मूल्य निधारण गर्नेगरी तयारी थालेको छ ।
लागत मूल्य नपाएमा सरकारले क्षतिपूर्ती व्यहोर्ने बताउँदै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अव कृषकले आफूले उत्पादन गरेको बस्तु विक्री नहुने वा घाटा व्यहोर्नुपर्ने हुन्छ कि भन्ने चिन्ता नगर्न अनुरोध गर्नुभएको छ ।
उत्पादन गरिरएको कृषिबस्तु विक्री भएन भने मन्त्रालय र कृषि विकास निर्देशनालयमा सम्पर्क गर्न केसीले अनुरोध गर्नुभएको छ ।
जागरण एफ. एम. ले कृषक र कृषिमन्त्रीबीच गराएको छलफलमा मन्त्री केसीसँग प्रदेशभित्रका विभिन्न जिल्लाका अगुवा कृषकहरुले आफ्ना गुनासो सुनाएका थिए ।
कृषकहरुले पछिल्लो समय आफूहरुले उत्पादन गरेका कृषिबस्तुले बजार नपाएको र बजार पाइहालेमा मूल्य नपाएको गुनासो गरेका थिए ।
साथै उहाँले अहिलेको परिस्थितिमा कृषिको विकासभन्दा अर्को विकल्प नभएको र बजेट पनि त्यहि अनुसार रहेको बताउनुभयो ।