पलाँताः ‘जहाँ विधिको भन्दा बमको शासन चल्छ’

कल्पना हमाल ।

सुर्खेत, ४ असार । संघीय संरचनाअनुसार तीन तहका सरकारहरुमध्ये नागरिकका लागि सबैभन्दा नजिकको सरकार स्थानिय तह हो । स्थानिय तहले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैको अधिकार राख्दछन् । जुनसूकै तहका सरकार हुन् उनीहरु विधिमा चल्नु नै पर्छ । तर कालिकोटको पलाँता गाउँपालिकामा भने यस्ता कुरा कमैमात्र लागू हुने गरेका तथ्य फेला पर्न थालेका छन् । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिकाका कामलाई संस्थागत भन्दा व्यक्तीगत निर्णयका आधारमा चलाउने गर्नुभएको भन्दै आलोचना हुने गरेको छ । स्थानिय नागरिक, गाउँपालिकासँग सम्वन्धित निकायलगायतका सुचनाको आधारमा फेला परेका केहि तथ्यहरु यहाँ उल्लेख गरिएका छन् ।

१) खारा आगलागीका पीडितले रहत पाएनन्ः
२०७५ पुस महिनामा भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका थिए । पीडितलाई राहत भन्दै कालिकोटका आठ वटै स्थानिय तहका साथै प्रदेश सरकारबाट प्रति परिवार पाँच लाख घोषणा गरिएको र टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट २४ लाख रुपैयाँ प्रदान गरिएको थियो । तर आफूहरुले अहिलेसम्म प्रदेश सरकारबाट घोषणा गरिएको प्रति परिवार पाँच लाखमध्ये चार लाखका दरले मात्र रकम पाएको पीडितहरुले बताएका छन् । आगलागी पीडित सर्पानन्द न्यौपानेले प्रदेश सरकारबाट घोषणा गरिएको बाहेक अरु रकम कहाँ गयो ? के भयो ? गाउँपालिकाले जवाफ पनि दिएको छैन । प्रश्न गर्नेहरुलाई गाउँपालिकाका अध्यक्षले अनेक किसिमका आरोप लगाई सिध्याउने खेल खेल्ने गरेको पीडितहरुले बताएका छन् । अर्का पीडित दीपक न्यौपानेले प्रश्न गर्नुभयो, “प्रदेश सरकारले दिने भनेको रकमको त हिसावकिताव छ, कालिकोटका गाउँपालिका र नगरपालिकाबाट उठेको रकम खोई ? अनि इन्द्रेणीले दिएको २४ लाख खोई ?”

२) जनयुद्धका शहिद परिवार, घाइते, अपाङ्गता भएकाहरुको विशेष राहत कोष घुमेरै रित्तोः
कालिकोट जिल्लामै जनयुद्धबाट बढी प्रभावित स्थानिय तह पलाँता गाउँपालिका हो । गाउँपालिकाले सुरुमा २० लाख रुपैयाँ जम्मा गरेर जनयुद्धका शहिद परिवार, घाइते, अपाङ्गता भएकाहरुको विशेष राहत कोष तयार गरेपछि त्यहाँका शहिद परिवार, घाइते, अपाङ्गता भएकाहरुमा एककिसिमको खुसी छायो । कुनै उपलव्धीपूर्ण काम होला भनेर हर्षित भएका उनिहरुलाई नेपालका विभिन्न ठाउँहरुमा घुमाइयो । घुमफिरपछि कोष रित्तो छ । आफूहरु रोल्पाको थवाङ्ग, सल्यान, पश्चिम र पूर्वी रुकुम, दाङ, पाल्पा, स्याङ्जा, कास्कीको पोखरा, रुपन्देहीको बुटबल, लुम्बीनी क्षेत्रमा घुमेर फर्किएको तर घुमाउनेबाहेक अन्य योजना अघि नसारिएको पलाँता २ का भरत न्यौपानेले बताउनुभयो । उहाँकाअनुसार गाउँपालिकाका धेरै जना शहिद परिवार, घाइते, अपाङ्गता भएकाहरु आर्थिक रुपमा विपन्नतालाई झेलिरहेका छन् । उनिहरुलाई घुमफिरभन्दा कुनै उत्पादनमूलक योजनामा जोड्नुपर्ने हुन्छ । साथै घाइते तथा अपाङ्गता भएका र शहिद परिवारलाई उपचारको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ ।

३) नातावाद हावी, उपभोक्ता समितिको पनि महाउपभोक्ता समितिः
गाउँपालिकाका अध्यक्ष बमले हरेक ठाउँमा आफन्तवाद लागू गर्ने गरेको पाइएको छ । गाउँपालिकामा शहिद परिवारको सञ्जालको रुपमा शहिद प्रतिष्ठान गठन गर्ने निर्णय भयो । तर त्यसमा आफ्नै काका पूर्णसिं बमलाई अध्यक्ष बनाइयो । तर शहिद परिवारकाअनुसार पूर्णसिं शहिद परिवारको व्यक्ती होइन । उहाँ आफू पनि जनयुद्ध लड्नुभएन । पलाँता १ का जयलाल न्यौपाने भन्नुहुन्छ, “शहिद प्रतिष्ठानका लागि १९ लाख छुट्याएको त मैले नै थाह पाएको छु । त्यो भन्दा पहिला पनि छुट्याएका थिए रे । तर त्यो पारदर्शी छैन, एउटा किताव छापेर सकियो भन्छन् ।” उहाँकाअनुसार योजना निर्माण गर्न एउटा उपभोक्ता समिति बनाइन्छ । सक्भर त्यहाँ आफ्ना मान्छेलाई सेटिङ्ग गरिन्छ र सम्भव नभए अर्को महाउपभोक्ता समिति भनेर गठन गर्ने गरिएको छ । यो कुरालाई वडानम्बर १ का वडाअध्यक्ष शक्ती भण्डारीले पनि स्वीकार गर्नुभएको छ ।

४) कार्यपालिका र पार्टी निर्णय अटेरः
गाउँपालिका अध्यक्ष बमले आफ्नै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गरेको निर्णयलाई पनि अटेर गर्ने गर्नुभएको छ । उदाहरणको रुपमा विगत दुई वर्ष अघि गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र हाल रहेको थिर्पूबाट लुँडेदह सार्ने निर्णय ग¥यो तर हालसम्म निर्णय कार्यान्वयन गर्न अध्यक्षले नै बाधा गरिरहेका अन्य जनप्रतिनिधिले गुनासो गरेका छन् । हाल गाउँपालिकाको कार्यालय अध्यक्ष बमकै घरमा भाडा तिरेर सञ्चालन भइरहेको छ । तत्कालिन नेकपा माओवादी (केन्द्र) बाट निर्वाचित बमले पार्टी एकिकरणपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले गर्ने निर्णयलाई कार्यान्वयन नगर्ने गरेको पाइएको छ । नेकपा पलाँता गाउँ कमिटिका अध्यक्ष विष्णु रोकायकाअनुसार पार्टी पद्धती र निर्णयलाई अटेर गर्दै अघि बढेपछि पार्टीले गाउँपालिका अध्यक्ष बमलाई निष्कासन गरेको छ । तर कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पार्टी जिल्ला इन्चार्ज महेन्द्रबहादुर शाहीले बमलाई सेप्ने र अरुलाई हेप्ने गर्नुभएको छ । शाही र बमबीच साला–भिनाको नाता छ ।

५) आलोचना गर्नेलाई सिध्याइदिने कार्यशैलीः
गाउँपालिका अध्यक्ष बमको कार्यशैली सवैलाई मन नपर्न पनि सक्छ भने कसैलाई मन परेको पनि हुनसक्छ । तर कार्यशैली र सुझाव दिने वा आलोचना गर्नेलाई जसरी हुन्छ सिध्याउनेगरी लाग्ने बमलगायत उहाँको टीमको कार्यशैली छ । जसअनुसार आलोचना गर्नेविरुद्ध सामाजिक सञ्जाल र सञ्चार माध्यमकोसमेत दुरुपयोग गरी लेख्न लगाउने, चरित्र हत्या गर्ने, अनावश्यक मुद्दा लगाउनेमात्र होइन भौतिक आक्रमणमै उत्रिनेसम्मको कार्यशैली छ । कहिलेकाँही त वडाअध्यक्ष, पार्टीका प्रतिनिधि वा अन्य सामान्य नागरिकसँग पनि भिड्ने गरेको पाइन्छ । केहि समय पहिला वडानम्वर १ का अध्यक्ष भण्डारीसँग बम केहिसमय पहिला आक्रमणमै उत्रिनुभएको थियो । त्यसैगरी एउटै गाडिमा चडेका स्वास्थ्यकर्मी र केहि स्थानिय नागरिकबीच सामान्य विवाद भएको विषयलाई अतिरञ्जित गरी सञ्चार माध्यमहरुको दुरुपयोगसमेत गाउँपालिका अध्यक्षको अग्रसरतामा भएको छ । गाउँपालिका आफैले चलाएको रेडियोबाट घटनालाई अतिरञ्जित गराइएको र अतिरञ्जित नगरौँ भनेर १ नम्बरका वडाअध्यक्षले नम्रताका साथ सञ्चारकर्मीलाई भनेपछि त्यसलाईसमेत बङ्ग्याएर वडाअध्यक्षले धम्की दिए भन्ने हल्ला फैलाइएको पार्टी अध्यक्ष रोकायले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष बम भने यस विषयमा प्रतिक्रिया दिनबाट पन्छिनुभएको छ । पटक पटक सम्पर्क गर्न खोज्दा उहाँ सञ्चार माध्यमको सम्पर्कमा आउन नमान्नुभएको हो ।