मुख्यमन्त्री कार्यालयबाट अस्पष्ट निर्देशन, कृषिका काम अलपत्र

सुर्खेत, ५ असार (जागरण) । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको अस्पस्ट निर्देशनका कारण भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सम्पुर्ण कामकारवाही रोकिएका छन् ।

गत जेठ ३२ गते मुख्यमन्त्रीको कार्यालयले भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई अनुदान सम्बन्धीका कार्यहरु रोक्ने अस्पस्ट निर्देशनका कारण मन्त्रालय र मन्त्रालय मातहतका सम्पुर्ण निकायका गतिविधि ठप्प भएका हुन् ।

कृषि व्यवसाय प्रवद्र्धन शिर्षकको कार्यक्रममा विवाद हुँदा मुख्यमन्त्री कार्यालयबाट अनुदानका कार्यक्रम रोक्न निर्देशन आएको थियो ।यसले कृषि व्यवसाय प्रवद्र्धनबाहेक अन्य प्रकारका अनुदानलाई पनि रोक्नुपर्ने अवस्था ल्याइदिएको छ ।

मन्त्रालय स्रोतकाअनुसार अस्पस्ट निर्देशनका कारण अरु कार्यक्रमहरुमा समस्या भएको छ । मन्त्रालयका अनुसार ‘एक कार्यक्रमका लागि मन्त्रालय र मन्त्रालय मातहतका १० ओटै जिल्लामा रहेका कार्यालयहरुबाट हुने कामकाज ठप्प रहेका नाम नबताउने शर्तमा मन्त्रालयको गोप्य स्रोतले बताएको छ ।

चालु आर्थिक बर्षको अन्तिम चरणमा गतिविधि रोकिनु दुर्भाग्यपूर्ण रहेको कृषि अधिकारीहरुले बताएका छन् । मन्त्रालय र मन्त्रालय मातहतका विभिन्न कार्यालयहरुद्वारा ४१ ओटा शिर्षकमा अनुदानका कार्यक्रमहरु प्रदान गरिएको छ ।

मन्त्रालयद्वारा कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको बारेमा सञ्चार माध्यममा केही टिप्पणी आएकाले कार्यक्रम रोक्नुपर्ने बाध्यता आएको हो ।

प्रदेश सरकारको प्रमुख अड्डा मुख्यमन्त्रीको कार्यालयबाट नै अस्पस्ट निर्देशन आउनु नै मन्त्रालयबाट हुने गतिविधिको बाधक भएको कृषितर्फका अधिकारीहरुको भनाई छ ।

अस्पस्ट निर्देशनका कारण नै कृषि सम्बन्धीका थुप्रै सम्पन्न भएका आयोजनाहरुको भुक्तानी दिनसमेत सकिएको छैन । मन्त्रालय मातहतका कति अनुदानका सम्पन्न आयोजनाहरुको मन्त्री स्वयं आफै सम्बन्धीत स्थानमा पुगेर अनुगमन समेत गर्नुभएको छ ।