कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो एक हजार दुई सय ५६

सुर्खेत, ७ असार (जागरण) । कर्णाली प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या एक हजार दुई सय ५६ पुगेको छ ।

प्रदेश अस्पतालअन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएकामध्ये आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा आज पुष्टि भएका नयाँ संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २–२ जना र रुकुम पश्चिमका १ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

जसमध्ये सल्यान वनगाड कुपिन्डे नगरपालिका–२, ३, ५ र ६ का एक-एक जना र वडा नम्बर ४ मा दुई जना छन् । सुर्खेत भेरीगंगा नगरपालिका – ७ र ८ का एक÷एक जना र दैलेखको महाबु गाउँपालिका – १ मा दुई जना संक्रमित रहेका छन् ।

यसैबीच, कर्णालीमा आज नै १४ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतको आसोलेसनबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसको आसोलेनबाट ३ जना, दैलेख नौमुलेको आसोलेसनबाट ७ जना र जाजरकोट अस्पतालको आसोलेसनबाट एकजना गरी १४ जना डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ५ सय ३१ पुगेको छ । कोरोना संक्रमित भइसकेपछि हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

नेपालभर कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज मात्र ४ सय २१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार आज १ सय ९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।