अमरज्योतिमा पठनपाठन शुरु

सुर्खेत, ७ असार (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ मा रहेको अमरज्योती माध्यमिक विद्यालयले लकडाउनका बीच पठनपाठन शुरु गरेको छ ।

एक अर्काबीच दुरी कायम गरी स्वास्थ्य सावधानीसहित लामो समयदेखि बन्द पठनपाठनलाई शुरु गरिएको हो । कोरोना भाइरस संक्रमणपछिको लकडाउनका कारण चैत ४ गतेदेखि लगातार शैक्षिक संस्थाहरु बन्द छन् ।

असार १ गतेदेखि सरकारले बैकल्पिक शिक्षाको सुरुवात गरेको भएपनि त्यसको प्रभावकारिता नभएको भन्दै अमरज्योतिले भने विद्यार्थीहरुलाई विद्यालयमा नै उपस्थित गराएर पठनपाठन शुरु गरेको प्रधानध्यापक खगेन्द्र थापाले जागरणलाई बताउनुभयो ।

आज आइतबार विद्यालयमा कक्षा ७ का २० जना विद्यार्थीहरु उपस्थित भएको भन्दै उहाँले अब अवस्थाअनुसार कक्षा ८, ९ र १० का कक्षा पनि संचालन गर्ने तयारी भएको जानकारी दिनुभयो ।

एउटा बेन्चमा करिब २ मिटरको दुरी हुनेगरी विद्यार्थीहरुलाई बस्ने व्यवस्था गरिएको छ भने मास्क, सेनिटाइजरको समेत प्रयोगलाई अनिवार्य गरिएको छ ।