सुर्खेत, १० जेठ (जागरण) । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद उत्कर्षमा पुगेपछि मन्त्रीका स्वकिय सचिव (पिए) थुनाउने सचिवलाई सरुवा गरिएको छ ।
मन्त्रालयका सचिव विद्यानाथ झालाई केन्द्रीय मन्त्रालयमा सरुवा गरिएको हो । उहाँको ठाउँमा केन्द्रिय वन मन्त्रालयका सचिव धिरेन्द्र प्रधान आउनुहुने भएको छ ।उहाँ आउँदो आइतबार मन्त्रालयमा हाजिर हुनुहुनेछ । लामो समयदेखी मन्त्रालयका मन्त्री नन्दसिंह बुढा र सचिव झा विच एक अर्कामा मनमुटाव रहँदै आएको थियो ।
पर्यटन मन्त्री बुढाले आफूलाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आएको आरोप लगाउँदै आउनुभएको थियो ।
सचिवले पनि मन्त्रीले गरेको अनावश्यक खर्चमा अख्तियारी मागेको आरोप लगाउनुभएको थियो ।
यसअघि हिजो मन्त्री बुढाका स्वकीय सचिव डम्वर बुढा र मन्त्रालयका सचिव विद्यानाथ झाबीच झडप भएको छ ।
हिजो कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीसँग सचिव झाको झगडा भएको थियो । प्रहरीले तीन जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो ।