कृषकको पिरलोः एकातर्फ रोपाईको चटारो, अर्कोतर्फ मल अभाव

पंखबहादुर शाही ।
सुर्खेत, ८ असार (जागरण) । रोपाई शुरु हुने समय नजिकिदै गर्दा कर्णाली प्रदेशमा मलको अभाव हुँदा कृषकहरु चिन्तित बनेका छन् । बीउ राख्ने समय भइसक्दा समेत लकडाउनका कारण मल नपाइएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।

कृषि सामग्री कम्पनी सुर्खेतको गोदाम ।

कृषक रोपाइँमा जुटेका बेला मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीको सुर्खेत वीरेन्द्रनगरमा रहेको गोदाम अहिले रित्तै छ । मल पाउने आशमा कृषक दिनहुँ कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धाउने गरेका छन् । तर, कम्पनीको गोदाममा हाल एक किलो पनि नपाउँदा कृषक निराश भएर रित्तो हात फर्कन बाध्य छन् ।

कोरोना महामारीसँगै बन्दाबन्दीका कारण पीडित कृषकलाई प्रदेश सरकारले मल र बीउ सहज रूपमा उपलब्ध गराउने घोषणा गरेको थियो । तर, रोपाइँको चटारो सुरु भइसक्दासमेत कृषकले मल पाउन सकेका छैनन् ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयले जाजरकोट, कालिकोट, मुगु, हुम्ला र डोल्पा जिल्लामा भने मलको अभाव नभएको बताएको छ । यी जिल्लाहरुमा प्राङ्गारिक मल प्रयोग हुने गरेको छ भने सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुमपश्चिमका कृषकहरुले भने रासायिनिक मल प्रयोग गर्ने गरेका छन् ।

कोरोना संक्रमण र लकडाउनका कारण रासायनिक मल आपूर्तिमा समस्या भएको प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायले जागरणलाई बताउनुभयो ।

मागअनुसार आपूर्ति हुन नसक्दा हरेक वर्ष मल अभाव भोग्नुपरेको उहाँको भनाई छ । यसपाली प्राङ्गारिक मल उत्पादनमा पहल नगरे मल अभावकै कारण उत्पादन पनि घट्नसक्ने उहाँले बताउनुभयो ।

यसैबीच सरकारले कृषकलाई दिने गरेको अनुदानको मलमा विचौलियाले रजाइँ गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन तथा चेकजाँचमा कडाई गरेको छ ।