कोरोना संक्रमितको संख्या १० हजार नाँघ्यो

काठमाण्डौँ, ९ असार (जागरण) । कोरोना भाइरस संक्रमितको संख्या कर्णाली प्रदेशसहित नेपालमा १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज ५ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो ।

कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । नेपालमा कोरोना जित्नेको संख्या भने दुई हजार २ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा संक्रमितको संख्या एक हजार तीन सय सातः
कर्णाली प्रदेशमा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या एक हजार ३ सय ७ पुगेको छ । प्रदेश अस्पतालअन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा आज पुष्टी भएका नयाँ संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

जसमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् । सुर्खेतको पञ्चपुरी नगरपालिका दुईजना पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने एक महिला चिङ्गाड गाउँपालिकाकी महिला रहेकी छन् ।

आज नै कर्णालीका विभिन्न आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकासँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५ सय ६० पुगेको छ ।

उपचाररत संक्रमितको मृत्युः
कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको आज मृत्यु भएको छ । प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि आज मृत्यु भएको डाक्टर पौडेलले बताउनुभयो ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहनुभएको थियो । थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमण भइसकेपछि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक–एकजनाको मृत्यु भइसकेको छ ।