सुर्खेत, १० असार (जागरण) । कर्णालीका अधिकांश स्थानिय तहहरु आज आफ्नो गाउँ तथा नगरसभाको उद्घाटन गर्ने तयारीमा छन् ।
राष्ट्रिय वित्त आयोगको तालिकाअनुसार हरेक आसार १० गतेभित्र स्थानिय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सभाको आयोजना गर्नुपर्ने हुन्छ ।
यसैबीच, कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले गर्दा वडा भेला नगरेरै कर्णाली प्रदेशका स्थानिय तहहरुले आगामी आर्थिक वर्षका लागि गाउँ तथा नगरसभा उद्घाटन गर्न थालेका छन् । योजना निर्माणका सात चरणहरुमध्ये सवैभन्दा बढी महत्वपूर्ण वडा भेलालाई लिइन्छ ।
बजेट अधिवेशनको तयारीमा रहेका स्थानिय तहहरुले यसपाली कोरोना कहरले विगतका वर्ष जस्तो वडा र बस्तीस्तरमा पुगेर भेला गर्न नसकिएको जनाएका छन् ।
विगतका आर्थिक वर्षमा प्रत्येक टोल, बस्ती तथा वडास्तरमा भेलामार्फत् जनताले माग गरेका योजनाहरुलाई प्राथमिकिकरण गर्दै योजना तयार गर्ने गरिएको भए पनि यसपाली भने त्यसो गर्न सकिएको छैन ।
कोरोना भाइरसको डरले गर्दा ठुलो संख्यामा भेला नगराइए पनि सिमित वडाका जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिसँग छलफल गरेर योजना छनोट गरी पालिकामा पु¥याइएको सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर के. सी. ले जागरणलाई जानकारी दिनुभयोे ।
उहाँकाअनुसार गाउँपालिका भित्रका ठुला र महत्वपूर्ण योजनाको गुरुयोजना बाहेकका साना योजनाको समन्वय गर्ने काम फोन मार्फत हुने गरेको छ ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले पनि लकडाउनले बस्ती तथा वडास्तरमा काम गर्न समस्या भएको बताएको छ । गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले गाउँसभा पनि तोकिएको समयमा नहुने बताउनुभएको छ ।
यस्तै कालिकोटको नरहरिनाथ गाउँपालिकाले पनि पालिका भित्रका सबै टोलस्तरमा रहेका बुद्धीजिवीलाई सम्पर्क गरी योजना छनोट गरेको छ ।
वडाका जनप्रतिनिधिले बस्तिस्तरबाट केही बुद्धीजिवीलाई सम्पर्क गरेर योजना संकलन गरी गाउँपालिकामा पु¥याइसकेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो ।
हुम्लाको नाम्खा गाउँपालिकाले भने भेलामार्फत् योजना छनोट गरिएको बताएका छन् । नाम्खाले बाहिरी जिल्ला तथा देश बाहिर रहेका नागरिकहरुलाई गाउँपालिकामा प्रवेश नगराइएकाले कोरोनाको जोखिम नभएको भन्दै वस्तीस्तरमै भेला गरी योजना छनोट गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाकाअनुसार वडाले टोल र वडास्तरमा भेला गरेरै योजना छनोट गरिएको छ ।