वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोडभन्दा बढी

सुर्खेत, १० असार (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ४२ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

सातौं नगरसभामा कार्यबहाक नगर प्रमुख मोहनमाया ढकालले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँको बजेट पेस गर्नुभएको हो ।

प्रस्तुत बजेटमा चालु खर्च ९० करोड ४० लाख १४ हजार ४ सय र पूँजीगततर्फ ५१ करोड ६७ लाख ९८ हजार ४ सय २३ रुपैयाँ रहेको छ भने वित्तीय व्यवस्थातर्फ ८२ लाख ८० हजार विनियोजन गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालय र वडा गरी आर्थिक विकासमा चार करोड ३६ लाख १० हजार, सामाजिक विकासमा १२ करोड ३० लाख ३१ हजार, पूर्वाधार विकासमा १४ करोड २९ लाख ४५ हजार ९ सय ४९, वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ३१ लाख ७५ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ६ करोड १२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना संक्रमणसँगै वैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उपमेयर ढकालले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा खेतीयोग्य जग्गा बाँझो रहन नदिन ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’ सञ्चालन गर्ने र त्यस्का लागि गह्रासुधार तथा चक्लाबन्दी गरी खेती कार्यको लागि आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन गरिने छ ।

एक सय बेडको आइसोलेसनः
वीरेन्द्रनगरले हाल देखिएको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा एकमुष्ट पाँच करोड जम्मा गरेर खर्च गर्ने भएको छ ।

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि शंङ्कास्पद व्यक्तिलाई कन्ट्रयाट ट्रेसिङ्ग गरी व्यापक परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राखी उपचार गर्ने, एक सय वेडको आइसोलेसन बेड निर्माण गरिने नगरपालिकाले जनाएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने नगरसभाको प्रस्तावित कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै आइसोलेसनका बिरामीहरुका लागि निगरानी राख्न डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गरिने, संक्रमित व्यक्तिलाई बोक्न छुटै एम्बुलेन्स र शव वाहनको व्यवस्था गरिने, आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि प्रयाप्त उपलब्धतालाई प्रभावकारी बनाइने, मदिरा तथा सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न विशेष अभियान थाल्ने घोषणा गरिएको छ ।

काँक्रेविहारमा चिडियाखानाः
कार्यवहाक नगर प्रमुख ढकालले पेस गरेको बजेटमा काँक्रेबिहारलाई चिडियाखानाको रुपमा विकास गर्न, नगरका अन्य पर्यटकीयस्थलहरु काँक्रेविहार, देउतीबज्यै, बुलबुले, घण्टाघर र गढी जस्ता दर्शनीयस्थलहरुमा वातावरणमैत्री पार्क निर्माण गर्न बजेट विनियोजन भएको छ ।

वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्न एक घर, दुई बिरुवा, हामी आफैं कुरुवा कार्यक्रमलाई निरन्तरता दिने, सौर्य ऊर्जा र बायो ग्याँस विस्तारमा विशेष जोड दिने, सडक वत्तिलगायत सहरी सौन्दर्य एवं ट्राफिक व्यवस्थापनमा विशेष प्रथामिकता दिइएको ढकालको भनाई छ ।

कोरोना भाइरसको संक्रमण जोखिम रोक्न ‘सुरक्षित म र मेरो समुदाय विशेष अभियान’ सञ्चालन गरिने, शून्य फोहोर उन्मुख नीति लागु गरिने, उपत्यकाभित्र कम्तीमा पाँचवटा सार्वजनिक शौचालय संचालन गर्ने, गुरुयोजना बमोजिम ल्याण्डफिल साइट निर्माण गर्न पनि बजेट विनियोजना भएको छ ।