‘कोरोना जितियो, आफन्तको मन जित्न सकिएन’

पंखबहादुर शाही ।
सुर्खेत, १२ असार (जागरण) । कर्णाली प्रदेशमा कोरोना भाइरस जितेर घर फर्किएकाहरुलाई समायोजन हुन गाह्रो हुने गरेको छ । अस्पतालमा उपचार पछि निको भई घर फर्किँदा परिवारकै कतिपय सदस्य तथा छरछिमेकीले हेर्ने दृष्टिकोण राम्रो नभएको हो ।

यसले गर्दा आफूहरुलाई मानसिक रुपमा झन झन कमजोर महसुस भइरहेको उनिहरुले बताएका छन् । अस्पतालमा विभिन्न सतर्कता तथा उपचारसँगै मनोबल बढाउने कार्य गरिएकाले निको भएको तर हाल निको भई घर फर्कँदा मनोबल घट्न थालेको कर्णाली प्रदेशका पहिलो संक्रमित दैलेखको आठबिस नगरपालिका १ सात्तलाका डम्बर नेपालीले कर्णाली रैबारलाई बताउनुभयो ।

आफूहरुले कोरोनालाई जितेको तर परिवार र छरछिमेकका व्यक्तीहरुको मन जित्न नसकेको उनिहरुले बताएका छन् । साथै उहाँले कोरोना लाग्दैमा मरिन्छ भन्ने नसोच्न सुझाव दिनुभएको छ । सुर्खेतको लेकबेसी नगरपालिका –३ का लिलाराम सुनारले कोरोना जितेपछि अर्को जुनी नै पाए झैँ अनुभूती भएको बताउनुभयो । गाउँघरमा अझै कोरोना सम्वन्धि बुझाई सही किसिमको नरहेकोले आफू हाल घरमै एकान्तबास बसेको बताउनुभयो ।

लेकबेसी नगरपालिका–१ का नरेन्द्र परियारले कोरोना जितेर घर फर्किए पनि घरमै एकान्तबास बसिएकाले अरुको नराम्रा बचन सुन्न नपरेको बताउनुभयो । तर आम नागरिकलाई कोरोनाबारे बुझाई सकारात्मक बनाउन जरुरी रहेको उहाँको भनाई छ ।

कोरोना मुक्त भइसकेपछि वीरेन्द्रनगरकै एक होटलमा एकान्तबास बस्नुभएका सुर्खेतको पञ्चपुरी नगरपालिकाका जगत ढकालले कोरोनालाई अव सामान्यीकरण गर्नुपर्ने बताउनुभयो । आफूलाई आवश्यक नभए पनि संक्रमण मुक्त भइसकेका अरु व्यक्तीहरु र गाउँघरका सर्वसाधारणलाई मनोसामाजिक परामर्शका लागि गम्भिर हुनुपर्ने बताउनुभयो ।

कालिकोटको तिलागुफा नगरपालिका–२ का हरी विश्वकर्माले पनि आम सर्वसाधारणबाट नकरात्मक टिप्पणी गरेको सुन्दा जिन्दगी देखि नै धिक्कार लाग्न थालेको बताउनुभयो ।

कालिकोटकै शुभकालिका गाउँपालिका–४ का डिल्ली अधिकारी भने कोरोना मुक्त भइसकेपछि आफै नबुझेकाहरुलाई सम्झाई बुझाईमा लाग्नुभएको छ । कोरोना बारेमा नबुझेकाहरुबाट नकरात्मक टिप्पणी आउने गरेपनि आफु भने सतर्क भएर आफ्ना दैनिक क्रियाकलाप गरिरहेको अधिकारीले जानकारी दिनुभयो । शुरु–शुरुमा कोरोना लाग्ने बित्तिकै मरिहाल्छन् भन्ने कुरा सुन्दा निकै डर लाग्ने गरेको भएपनि हाल यसलाई सामान्य बुझ्न थालेको अधिकारीको भनाई छ ।

अनेक थरीका भ्रामक कुराहरुले झन मानसिक तनाव दिने हुँदा कोरोना देखिएका व्यक्तिहरुलाई सम्झाई बुझाई गरी मनोबल बढाउनुपर्ने मनोविद् सुशिल समदर्शीले बताउनुभयो । मनोसामाजिक परामर्श हुन नसकेमा मानिस कोरोना भाइरसका कारणले नभई मानसिक तनावका कारण मृत्युसम्म पुग्ने उहाँको भनाई छ ।