सुर्खेत, १३ असार (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुस्थित सारदा माध्यमिक विद्यालयमा रहेको पूर्वसावधानी गृहमा हातले नछोइकन खुट्टाद्वारा सञ्चालन गरिने हात धुने स्टेशन स्थापना गरिएको छ ।
फ्रेस वाटर एक्सन नेटवर्क साउथ एशिया रिजन (नेपाल च्याप्टर) र समाज जागरण केन्द्र (स्याक) नेपालको सहयोगमा भेरीगंगा नगरपालिकाले हात धुने स्टेशन स्थापना गरिएको हो ।
एउटै धारामा धेरै जनाले हातले छोएर खोल्ने वा बन्द गर्ने गर्दा संक्रमणको जोखिम हुने र पानी पनि धेरै खर्च हुने भएकाले पूर्व सावधानी गृहमा यस्तो नयाँ प्रविधि जडान गरिएको फ्रेस वाटर एक्सन नेटवर्क साउथ एशिया रिजन (नेपाल च्याप्टर) का प्रतिनिधि तथा खानेपानी उपभोक्ता महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कुलमणी देवकोटाले बताउनुभयो । धारोको एउटा छेउमा खुट्टाले दबाउँदा आवश्यकताअनुसार पानी आउने र अर्को तर्फ दबाउँदा साबुन आउछ ।
भेरीगंगामा रहेको एउटा पूर्वसावधानी गृहमा हात धुने स्टेशन जडान भएपछि भेरीगंगाभर चार ठाउँमा यस्ता स्टेशन जडान गर्न थालिएको स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले जानकारी दिनुभयो । हात धुने स्टेशन स्थापना भइसकेपछि भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।