कोरोना जित्नेहरुको संख्या बढ्दै

सुर्खेत, १६ असार (जागरण) । आज एकै दिन ७१ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना जित्नेको संख्या एक हजार ७२ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा शाखाकाअनुसार २४ घण्टामा डिस्चार्ज भएकामध्ये महावु आइसोलेसन सेन्टर दैलेखबाट ५६ जना, प्रदेश अस्पताल सुर्खेतबाट ९ जना, भैरवी आइसोलेसन सेन्टर दैलेखबाट ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ७१ आज डिस्चार्ज भएका मन्त्रालयको स्वास्थ्य सेवा शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यस्तै, कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल बाँकेमा भएको परीक्षणबाट आज १६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणबाट रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा संक्रमण पुष्टि भएको डाक्टर तिवारीले बताउनुभयो ।

नेपालगञ्जमा भएको परीक्षणबाट डोल्पा र कालीकोटका दुई–दुईजनामा संक्रमण पुष्टि भएको छ । कर्णालीमा अहिले सम्म कोरोना संक्रमितको संख्या एक हजार ४ सय ४३ पुगेको छ ।