सुर्खेत, १६ असार (जागरण) । कृषि बालीमा क्षति पुर्याउने सलहको झुण्ड कर्णाली प्रदेशमा भित्रिएको छ ।
लेकबेशी नगरपालिका ३ सुर्खेतस्थित कृषि क्षेत्रको अध्ययन गर्ने निकाय कृषि अनुसन्धान केन्द्र (नार्क) कै बारी र बराहताल गाउँपालिका वडानम्बर ३ का कृषकको बारीमा आज सलह देखिएको हो ।
धेरै ठूलो समूहमा नभएकाले यो कतैबाट छुट्टिएर आएको सानो झुण्ड भएको हुनसक्ने नार्कका प्रमुख बन्दुराज बरालले जागरणलाई बताउनुभयो ।
सलह ठूलो संख्यामा आएमा थाली र ड्रम बजाएर भगाउने र आवश्यक परे विषादी पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने बरालले बताउनु भयो ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह देखिएकाले कसरी अगाडि बढ्ने भनेर तत्काल बैठक बसी निर्णय लिने जनाएको छ ।
मन्त्रलायका प्रवक्ता हरी पण्डितले दशरथपुरमा सलह भेटिएकाले मन्त्रालयले त्यसको लागि छिट्टै निर्णय लिने छ । उहाँले सलहबाट अन्नबालीमा हुने क्षति न्यूनीकरण गर्न पालिका, केन्द्र, निजी क्षेत्र र कृषकसँग मिलेर अघि बढ्ने योजना बनाएका बनाएको बताउनुभएको छ ।