खेलकुद विकास ऐन कार्यान्वयनमा

काठमाण्डौ, १७ असार (जागरण) । राष्ट्रिय खेलकुद विकास ऐन आजदेखि कार्यान्वयनमा आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट असारको दोस्रो साता प्रमाणीकरण भएको विधेयक आजदेखि कार्यान्वयनमा आउने भएको हो ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले असार ११ गते प्रमाणिकरण गर्नुभएको थियो ।

खेलकुद विकास ऐन २०४८ लाई संशोधन गर्दै सरकारले नयाँ ऐन कार्यान्वयन ल्याएको हो । खेलकुद क्षेत्रलाई थप ब्यवस्थित बनाउन भन्दै सरकारले लामो समयदेखि नयाँ ऐन निर्माणको गृहकार्य गरिरहेको थियो ।

ऐन पूर्ण रुपमा कार्यान्वयन हुन केही समय लाग्ने मन्त्रालयको बताएको छ । त्यस अनुसार ऐनको नियमावली बनाउन मन्त्रालय समिति गठनको तयारीमा छ ।

समितिले विभिन्न खेल संघ र सरोकारवाला निकायसंग छलफल गरेर ऐनले उल्लेख गरे अनुसारको नियमावली बनाउने छ ।