कोरोनालगायत जोखिमविरुद्ध गुराँसले गर्यो विमा

दैलेख, १७ असार (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले कोरोनालगात जोखिमविरुद्ध आफ्ना पदाधिकारी र कर्मचारीका लागि विमा गरेको छ ।

गाउँपालिकामा अग्रभागमा भई पदाधिकारी र जनप्रतिनिधि खटिने गरेकाले उनिहरुमा आउने कोरोना लगायत अनेक किसिमका जोखिमलाई मध्यनजर गरी विमा गरिएको हो । गुराँस गाउँपालिका कार्यपालिकाको कार्यालय र ज्योती लाइभ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विमा सम्वन्धी सम्झौता भएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारी र पदाधिकारी गरी दुई सय ४ जनाको विमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताउनुभएको छ ।

गुराँसबाट अर्को ठाउँ सरुवा भई गएमा भने यो विमा लागू नहुने बताउँदै बुढाले रिक्त दरबन्दीमा आउने नयाँ व्यक्तीकै हकमा लागू हुने जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले दीर्घकालिन रुपमा कर्मचारी र पदाधिकारीलाई कामको सिलसिलामा सुरक्षाको अनुभूती गराई ढुक्कसँग काम गर्ने वातावरण गराउन विमा गरिएको बताउनुभएको छ ।

ज्योती लाइफ इन्स्योरेन्सका सेल्स एब्जुकेटिभ प्रमिला खड्काका अनुसार यस योजनाअन्तर्गत कोरोना तथा अन्य कुनै पनि कारणबाट मृत्यु भएमा कर्मचारी वा पदाधिकारीका आफन्तले पाँच लाख रुपैयाँको दावी गर्न सक्नेछन् ।

कम्पनीले ल्याएको अरु नयाँ योजनाअनुसार कुनै पनि कारणबाट हुने मृत्यु, दुर्घटनाको कारणबाट हुने मृत्यु, दुर्घटनाको कारणबाट हुने स्थायी पूर्ण अशक्तता, दुर्घटनाको कारणबाट हुने आशिंक स्थायी अशक्तता/अङ्गभङ्ग, दुर्घटनाको कारणबाट हुने औषधोपचार खर्च सोधभर्ना र दुर्घटनाको कारणबाट साप्ताहिक आय क्षतीपुर्ति समेत छ ।