यसरी नियन्त्रण गरौँ सलह

पंखबहादुर शाही ।
सुर्खेत, १९ असार (जागरण) । केही समय अघि मात्रै नेपालमा भित्रिएको सलह कीरा कर्णालीका ५ जिल्लामा फैलिसकेको छ । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा सलह कीरा फैलिएको हो ।

कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा भित्रिएको सलहको झुण्ड कम मात्रामा भएकाले धेरै मात्रामा क्षति गरेको जानकारी आएको छैन ।

गत मंगलबार सबैभन्दा पहिला प्रवेश गरेको सुर्खेतको लेखकवेशी नगरपालिका दशरथपुरमा करिव साढे २ सयको हाराहारीमा सलहको झुण्ड प्रवेश गरेको थियो ।

निर्देशनालयका निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले थोरै मात्रामा भित्रिएकाले खासै क्षति नगरेको र सलह मंगलबार राति नै उडेर पश्चिमतर्फ गएको जागरणलाई जानकारी दिनुभयो ।

सलह कीराको झुण्ड देखिएकाले कृषकहरुले नियमित खेतबारीको अवलोकन गर्नुपर्ने र देखिहालेमा झुल अथवा छोप्ने खालका बस्तुले छोपेर धान र तरकारीका नर्सरीलाई बचाउन सकिने रोकायाले बताउनुभयो ।

सलह लामो समयसम्म एकै ठाउँमा नरहने र रहेको छोटो समयमा सबै बालीनाली सखाप पार्नसक्ने भएकाले देखिएको समयमा नै आगोको ज्वाला, थाल, मादल, दमाह लगायत आवाज दिने बस्तुहरुको प्रयोग गरेर तितर वितर गर्न सकिन्छ ।

साथै सलह भगाउनका लागि म्युजिक पनि प्रयोग गर्न सकिने निर्देशक रोकायाले बताउनुभयो । सलहलाई भगाउने प्रमुख विकल्प नै यही नै भएकाले एउटा व्यक्ति भन्दा पनि सम्पुर्ण समुदाय मिलेर भकाउन सकिन्छ ।

विषादीको प्रयोग गरेर सलहलाई भगाउन सकिने भए पनि विषादी प्रयोगले वातावरण प्रदुषित हुने र मानव लगायत अन्य जीवजन्तुहरुलाई ठुलो असर पर्ने भएकाले सक्भर घरेलु उपायहरु नै प्रयोग गर्दा उत्तम हुने निर्देशक रोकायाको सुझाव छ ।