शिक्षकको पहलमा ‘टोलटोलमा सिकाई अभियान’

टेकराज केसी
दैलेख, १९ असार (जागरण) । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ गर्चामा टोलटोलमा सिकाई’ अभियान सञ्चालन शुरु गरिएको छ ।
कोरोना भाइरसका कारण लामो समयसम्मको लकडाउनले विद्यालयहरु संचालन नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै टोलटोलका विद्यार्थीहरुको सहभागिता बनाई शिक्षण सिकाईका क्रियाकलाप संचालन गर्न थालिएको हो ।
सरकारले असार १ गतेदेखि रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट बैकल्पिक शिक्षाको शुरुवात गरेको छ ।
तर यसको प्रभावकारिता नभएको भन्दै कालिका मावी गर्चाका शिक्षक खुशीराम खत्रीले टोलटोलका विद्यार्थी जम्मा गरेर पठनपाठन शुरु गरिएको बताउनुभयो । गुराँस गाउँपालिकाका अधिकांस ठाउँका विद्यार्थीहरु टेलिभिजन र अनलाइनको पहुँचमा छैनन् ।
विद्यार्थीहरुको स्वास्थ्यमा ध्यान राख्दै सामाजिक दुरी कायम गरी टोलटोलमा पठनपाठन गत हप्तादेखि शुरु गरिएको उहाले बताउनुभयो ।
अहिले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिइएको भन्दै आफ्नै पहलमा टोलटोलमा सिकाई अभियान शुरु गरिएको उहाले जानकारी दिनुभयो ।
अहिले करिब ५० जना विद्यार्थीहरु सहभागी हुने गरेका छन् । उनिहरुलाई सामाजिक दुरी कायम गरी पठपाठन गराइने गरेको छ ।
विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर अनिवार्य गरिएको भएपनि यसको अभाव भने रहेको उहाले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई मास्क सेनिटाइजर र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराईदिन पनि शिक्षक खत्रीले गाउँपालिकासँग माग गर्नुभएको छ ।
बिहान ७ बजेदेखि ९ बजेसम्म विद्यार्थीहरुलाई सिकाउने गरिएको छ ।
यता, वडा अध्यक्ष पूर्ण बहादुर ओलीले सबै शिक्षकहरुले आ–आफ्ना टोलका विद्यार्थीहरुलाई उच्च स्वास्थ्य सतर्कता अपनाउदै टोलटोलमा सिकाइलाई फ्लो गर्नुपर्ने भन्दै अभियानको प्रसंशा गर्नुभएको छ ।
विद्यार्थीहरुको लागि स्वास्थ्य सामग्री वडाको तर्फबाट उपलब्ध बनाउने पनि उहाले जानकारी दिनुभयो ।