सुर्खेत, २४ असार (जागरण) । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा योजना सर्वसम्मत पारित भएको छ ।
एक महिनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक सर्वसम्मतले पारित भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो ।
सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको मुख्यमन्त्री शाहीले बजेटलाई उत्पादक क्षेत्रमा विनियोजन गरिनुपर्दछ भन्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा उठेका कुरा सरकारका लागि मार्गदर्शन भएको प्रतिक्रिया बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागि कुल ३३ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालू खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।