खुसिराम सरको कथाः ‘जसको पथमा हिँडे वडाभरका शिक्षकहरु’

टेकराज केसी ।
दैलेख, २५ असार (जागरण) । ‘शिक्षक’ भन्ने वित्तिकै तपाई के बुझ्नुहुन्छ ? सामान्यतया तपाइले जस्तै धेरैले बुझ्ने भनेको विहान १० बजे विद्यालय जाने र अपरान्ह ४ बजे घर फर्किने मान्छेको रुपमा बुझ्छन् । कतिपय ठाउँमा ‘शिक्षक’ लाई ‘मास्टरसाहव’ पनि भन्छन् । जे होस् एकजना जागिरे मान्छेको रुपमा शिक्षकलाई बुझिन्छ । जागिरेमध्ये पनि सवैभन्दा औषतमा धेरै विदा पाइने पेशाको रुपमा पनि ‘शिक्षक’ लाई बुझ्ने चलन छ ।
तर यस्तो बुझाई र दृष्टिकोणलाई एक जना शिक्षकले गलत सावित गरिदिनुभएको छ । ‘शिक्षक’ ले चाहेमा परिवर्तन गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नुभएको छ, दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ गर्चाका खुुशीराम खत्रीले । विगत २७ बर्षदेखि निरन्तर अध्यापन गराउँदै गर्नुभएका खत्रीलाई ‘खुशीराम सर’ भन्छन् । नाममात्रै होइन, उहाँले गर्ने कामले अहिलेसम्म कोही अभिभावक, शिक्षक दुःखी हुन परेको पनि छैन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसको त्रासका कारण विद्यालयहरु पूर्ण रुपमा बन्द छन् । धेरै विद्यालयजस्तै उहाँले अध्यापन गर्ने कालिका माध्यमिक विद्यालयलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । तर उहाँले आफ्ना विद्यार्थीलाई पठनपाठन गराउने कार्य भने रोक्नुभएको छैन, त्यो पनि सवै प्रकारका सुरक्षा संवेदनसिलता अपनाएर ।
खत्रीले आफ्नो घर नजिकैको खुला मैदानमा बालबालिकालाई दुई दुई मिटरको दूरी कायम गरी पढाउने गर्नुभएको छ । विद्यालय सञ्चालन नभएपछि बैकल्पिक शिक्षाको रटान लगाउनेहरुले इन्टरनेट, टेलिभिजनलगायतको माध्यम प्रयोग गर्ने कुरा गरिरहँदा गुराँस गाउँपालिकाका अधिकांश ठाउँमा यी माध्यमले कुनै प्रभाव पार्न सक्दैनन् ।
यसलाई मध्यनजर गरी उहाँले गर्नुभएको कामको प्रशंसासहित वडानम्बर ८ को कार्यालय पनि उहाँकै लयमा हिड्न थालेको छ । वडाअध्यक्ष पूर्णबहादुर ओलीले टोलटोलमा २४ जना शिक्षक परिचालन गरी पठनपाठन गराउनेगरी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयुक्त बैठकले निर्णय गरेको जागरणलाई बताउनुभयो । शिक्षक खत्रीले गरेको कामको प्रशंसासहित वडाअध्यक्ष ओलीले नै सवैभन्दा पहिला सामाजिक सञ्जालमा फोटो श्यर गर्नुभएको थियो ।
खुशीराम सरको परिचयः
गुराँस गाउँपालिका वडा नम्बर ८ माथिल्लो गर्चामा जन्मिएका खुशीराम खत्री गाउँकै कालिका मावीमा २५ बर्षदेखि अध्यापन गराइरहनुभएको छ । लामो समयदेखि अध्यापन गराइरहनुभएका खत्रीले गाउँमा कुनैपनि विकृतीका विरुद्ध कठोर भएर लाग्ने गर्नुभएको छ । सबै क्षेत्रमा सु–शासन कायम हुनुपर्छ भनेर वकालत गर्नुहुन्छ । उहाँ अन्याय गर्नेमाथी मोर्चाबन्दी नै गरेर विरोध गर्ने निश्वार्थी भावनाका हुनुहुन्छ । खुशिराम सरको पकेटमा सधै केही थान नङ्कट, साबुन, कापी, कलम उहिलेदेखि नै हुन्छन् । जो विद्यार्थीलाई जे आवश्यक प¥यो खुशिराम सरले समाधान गरिदिनुहुन्छ । यतिसम्म कि, साना साना विद्यार्थीका नङ् काटिदिने र सरसफाई गरिदिने कामसमेत उहाँले गर्नुहुन्छ ।
सरका सबैजसो विद्यार्थीले उहाँको प्रशंसा मुक्तकण्ठले गर्छन् । त्यस्तैमध्येका एक हुनुहुन्छ, हाल एमफिल गर्न थाल्नुभएका गुराँस गाउँपालिका ८ कै प्रेमबहादुर ओली । उहाँले फेसबुकमा लेख्नुभएको छ, “मलाइ अझै याद छ । कक्षा ३ मा पढ्दा दिदीहरुको पुरानो किताब पढ्नु पर्ने । किताब सधै पुरानो च्यात्तिएको हुने, नेपाली किताब आधा भन्दा धेरै च्यात्तिएको थियो । त्यो किताबको पुरै नभएको पाठ लेखेर गम लगाइदिनु भएको याद अझै ताजै छ गुरु । आज यो काम देख्दा एउटा असल गुरुको चेला हुनु मा गर्व महसुस गर्दछु ।”
उहाले पढाएका धेरै विद्यार्थी अहिले राम्रो पेशामा आवद्ध छन् ।
हाल शिक्षण पेशामै रहनुभएका भरतकुमार दास भन्नुहुन्छ, “खुसिराम सरले आफ्नो जागिरबाट पाउने रकमको कम्तिमा चार भागमा एक भाग त विद्यार्थीकै स्याहारसुसारमै खर्च गर्नुहुन्छ होला ।”
शिक्षक खत्री भन्नुहुन्छ, “शिक्षक भन्न वित्तिकै १० बजे विद्यालय जाने ४ बजे घर आउने मात्र नभएर शिक्षामा कम जानकार व्यक्तीहरुलाई शिक्षा प्रदान गर्नुका साथै समाज सेवा पनि हो ।”

विद्यार्थीहरुको सिकाई निरन्तरता सबै ठाउँ लागु हुन आवश्यक
कोभिड १९ का कारण अहिले शैक्षिक संस्थाहरु संचालन हुन सकिरहेका छैनन् । चैत ६ गतेदेखि लगातार विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरुको सिकाईमा असर परेको भन्दै सरकारले असार १ गते वैकल्पीक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी कार्यान्वयनमा लिएको छ । तर कर्णालीका विकट क्षेत्रमा रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँचमा सबै विद्यार्थीहरु छैनन् । एउटा अध्ययनले कर्णालीमा करिब ३० हजार विद्यार्थीहरु कुनैपनि संचारको पहुँचमा नभएको तथ्याङ्क निकालेको छ । यस्तो अवस्थामा शिक्षक खत्रीले शुरु गरेको टोलटोलमा सिकाई अभियान सबैतिर लागु हुनु आवश्यक छ ।
दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ ले शिक्षक खत्रीले शुरु गरेको टोलटोलमा सिकाई अभियान वडाभर नै लागु गर्ने र त्यसको लागि शिक्षकहरु परिचालन गर्ने निर्णय गरिसकेको छ । त्यस्तै गाउँपालिकाभर रहेका सबै वडामा यो अभियान संचालन गर्नेतर्फ गुराँस गाउँपालिका शिक्षा शाखाको ध्यान आवश्यक छ ।
गाउँपालिका मात्र हैन, कर्णालीका सबै विकट जिल्लाहरुमा सबै स्वास्थ्य सतर्कता अपनाएर टोलटोलमा सिकाई अभियान संचालन गर्नतर्फ प्रदेशको शिक्षा प्रतिकार्य समुहले समेत छलफल चलाउन आवश्यक छ । जसले विद्यार्थीहरुको सिकाई निरन्तरतामा सहजता आउन सक्छ ।