संसदीय समिति निर्विरोध, आज घोषणा गरिँदै

सुर्खेत, २८ असार (जागरण) । कर्णाली प्रदेशसभाका संसदीय समितिहरुमा निर्वाचनको लागि ४ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभा गठन भएको २७ महिनापछि निर्वाचन मार्फत नेतृत्व चयन गर्न प्रदेशसभामा ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । तर उनिहरु निर्विरोध भएका छन् ।

आज दिउँसो १ बजे हुने निर्वाचनका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएको कर्णाली प्रदेशसभाका सह–सचिव वीरेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । केसीकाअनुसार निर्विरोध चयन भएका भए पनि निर्वाचनको प्रक्रिया भने अपनाउनैपर्ने हुन्छ ।

अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गणेशप्रसाद सिंह, विद्यायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपाकै दानसिंह परियार, सामाजिक विकास समितिको अध्यक्षमा नेकपाकै देवी ओली र सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका दीनबन्धु श्रेष्ठले मनोनयन दर्ता गराएको केसीले बताउनुभयो । यसअघि बिषयगत संसदीय समितिका बैठकहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको थियो ।

कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसार समितिको अध्यक्ष पदको निर्वाचन गर्न लागिएको सचिवालयले बताएको छ ।