कर्णाली प्रदेशमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्यामा उल्लेख्य वृद्धि

सुर्खेत, २९ असार (जागरण) । कर्णाली प्रदेशमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या उल्लेख्य बढेको छ ।
आज मात्रै विभिन्न आइसोलेसनबाट गरी ४३ जना डिस्चार्ज भएका छन् । योससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १४०८ पुगेको हो ।
कर्णालीमा अब कोरोनाका सक्रिय केस दुइसय २ मात्र रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
यो संख्यालाई हेर्दा संक्रमित निको हुने दर उच्च भएको महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा कर्णालीका २१ जना कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टी भएको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पता, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र पश्चिम रुकुमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर तिवारीले जानकारी दिनुभयो ।
डाक्टर तिवारीका अनुसार वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका ४ महिलासहित ११ जना, कालीकोटको महाबै गाउँपालिका, खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिका २ महिलासहित ७ जना रहेका छन् ।
यस्तै रुकुम पश्चिमको जौरजहारीका दुईजना पुरुष र दैलेखको आठबीस नगरपालिकाकी एक महिला रहेकी छन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६१६ पुगेको छ ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए ।
हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेस अनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गते आएको पीसीआर रिपोट पोजेटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको डीएसपी घर्तीले बताउनुभयो ।
उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको छ ।