‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वनमा चुनौती

पंख बहादुर शाही ।
सुर्खेत, ३० असार (जागरण) । कर्णाली प्रदेश सरकारले ग्रामीण क्षेत्रमा विद्युतको पहुँच पु¥याउन शुरू गर्ने भनिएको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयनमा जटिलता देखिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको उक्त कार्यक्रमको आर्थिक वर्ष सकिनै लाग्दा मात्र स्थानीय तहहरूमा बजेट अख्तियारी पठाइँदा लघु जलविद्युत् आयोजनाहरूको काम अलपत्र भएको हो ।
‘कर्णाली उज्यालो’का लागि आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय तहमा बजेटको अख्तियारी गएको छ । जसकारण अधिकांश आयोजनामा पठाइएको बजेट खर्च नहुने देखिएको छ ।
चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि २७ करोड ३ लाख २१ हजार ४५० रुपैयाँ प्रदेशका विभिन्न स्थानीय तहमा ७३ ओटा लघु आयोजनाका लागि पठाइएको छ ।
कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत जाजरकोटको भेरी नगरपालिका –११को बुङ्ग्रे खोला जलविद्युत् आयोजनाका लागि ७ लाख ७९ हजार ७ सय रुपैयाँ गएको छ ।
सो आयोजनाको कुलो निर्माण, जेनेरेटर, ईएलसी बोर्ड, हिटर, २५० पोल र १७ किलोमिटर तार तान्ने काम भईरहेको छ ।
प्रदेशका अधिकांश स्थानीय तहमा कर्णाली उज्यालो कार्यक्रमको बजेट असार मसान्तमा मात्रै गएको छ । जसकारण स्थानीय तह बजेट खर्च कसरी गर्ने भन्ने अन्योलमा छन् ।
यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले कर्णाली प्रदेशलाई विद्युतीकरणमा जोड्ने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सम्झौतामा उज्यालो कार्यक्रम कार्यान्वयन भईरहेको जानकारी दिनुभयो ।
कर्णालीका धेरै स्थानीय तहमा विद्युत्को पहुँच नपुगेको भन्दै गाउँबस्तीमा दिगो बत्ती बाल्ने र भइरहेका आयोजनालाई नियमित सञ्चालन गर्न उज्यालो कार्यक्रम ल्याइएको हो ।
स्थानीय तहबाट आयोजनाका लागि बजेट माग भएअनुसार रकम प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।
कर्णाली उज्यालो कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै धेरै आयोजनाहरूलाई सहयोग गर्दै आएको छ ।